
काठमाडौं । चितवन, कालिका नगरपालिका-१० तीन दोभान बस्ने ३३ वर्षीय गम्भीर चेपाङको सोही ठाउँस्थित कयर खोलाले बगाएर मृत्यु भएको छ । बिही बेलुकी खोलाले बगाएर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चकी जुटपानीबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा शुक्र बिहान शव फेला परेको हो । रूपन्देही, बुटवल उपमहानगरपालिका-९ इँटाभट्टी बस्ने ११ वर्षीया आयुसा थापाको तिलोत्तमा नगरपालिका-३ स्थित सोर्ह्र गौजो नहरमा डुबेर बिही साँझ मृत्यु भएको छ । डुबेर अशक्त भएकी उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । पर्सा, पर्सागढी नगरपालिका-८ हरपुर टोल बस्ने रमेश कुश्वाहाको छोरा १८ महिनाको अनिश कुशवाहाको आफ्नै आँगनमा रहेको बाटाको पानीमा डुबेर बिही दिउँसो मृत्यु भएको छ । खेल्ने क्रममा डुबेर अशक्त भएका उनको मेडिसिटी अस्पताल बयोधा पर्सामा उपचारको क्रममा मृत्यु भएको हो । यसैबीच झापा, दमक नगरपालिका-३ चेतना टोलस्थित दुम्सेबाट फुटानी चोक जाने बाटो छेउमा सोही नगरपालिका-३ दुम्से बस्ने ३४ वर्षीय पुष्प पौडेल बिही मृत अवस्थामा फेला परेका छन् । कास्की, पोखरा महानगरपालिका-१९ स्थित सडक नालीमा सोही ठाउँ बस्ने २८ वर्षीय डम्बर पुर्जा शुक्र मृत अवस्थामा फेला परेका छन् । यसैगरी कास्की, मादी गाउँपालिका-८ कैरेनीस्थित रूदी खोलाको किनारमा लमजुङ क्वहोलासोथार गाउँपालिका-६ पसगाउँ बस्ने ३८ वर्षीय मंगल विक बिही मृत अवस्थामा फेला परेका छन् ।









