
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लगातार हवाई दुर्घटना हुनुले नेपालको आकाश सुरक्षित नभएको सङ्केत गरेको बताएका छन् । मन्त्रिपरिषद् बैठकको निणर्य सार्वजनिक गर्ने क्रममा सिंहदरबारमा सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले दुर्घटनाको कारण पत्ता लगाएर समाधान निकाल्न सरकारले योजनाबद्ध रुपमा काम गर्ने बताएका छन् । उनले निरन्तर हवाई दुर्घटनाले पर्यटन क्षेत्रमा नकारात्मक धक्का पुगेको भन्दै यसले अन्तर्राष्ट्रियस्तरमा पनि मुलुकको छविमा आँच आउने अवस्था आएको उल्लेख गरेका छन् । यसैबीच संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नेपाल उड्डयन प्राधिकरण (क्यान)का पदाधिकारीहरूलाई पदमुक्त गर्नुपर्ने माग उठेको छ । समितिको बैठकमा सांसदहरूले क्यानका पदाधिकारीहरूलाई पदमुक्त गरेरमात्रै छानबिन अगाडि बढाउनुपर्ने माग गरेका हुन् । नेपाली कांग्रेसका सांसद विमिलेन्द्र निधिले क्यानका पदाधिकारीहरू कायमै रहेको अवस्थामा गरिएको छानबिनको औचित्य नहुने बताएका छन् । त्यसैगरी पूर्व अर्थमन्त्री वर्षमान पुनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले फरक व्यवहार देखाएको आरोप लगाएका छन् । अर्थ समितिको बैठकमा पूर्व अर्थमन्त्री पुनले गभर्नर अधिकारीले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यकालमा कडा मौद्रिक नीति लिएको आरोप लगाएका हुन् । तर अहिले ओली नेतृत्वको सरकार आएपछि खुकुलो मौद्रिक नीति ल्याएको भन्दै फरक व्यवहार देखाएको आरोप लगाएका हुन् । त्यस्तै पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले नेप्सेभित्र काम गर्ने कर्मचारीकै मिलोमतोमा पुँजीबजारमा इन्साइडर ट्रेडिङ हुने गरेको दाबी गरेका छन् । प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिको बैठकमा बोल्दै पूर्वअर्थमन्त्री डा. महतले यस्तो दाबी गरेका हुन् । उनले आफू अर्थमन्त्री भएको बेलामा धितोपत्र बोर्डले नेप्सेमा भित्रका सूचना लिएर (इन्साइडर ट्रेडिङ) हुने गरेको बोर्डले जानकारी दिएको बताएका छन् । नेप्सेमा लिष्टेड भएका कम्पनीका मान्छे नेप्सेको कर्मचारी रहेको उनीहरुसँगकै सूचनाका आधारमा बजारमा इन्साइडर ट्रेडिङ कारोबार हुने गरेको धितोपत्र बोर्डकै अध्ययनबाट देखिएको उनको भनाइ छ । उनले धिातोपत्र बोर्डको अध्ययनले त्यस्तो अपारदर्शी कारोबार भएकाले देखाएकाले नियमक निकायका हैसियतमा तत्काल नियमन गर्नुपर्ने बताएका छन् । उनले यस्तो कारोबारमा बोर्डले हस्तक्षेप र निगरानी गर्न जरुरी रहेको बताएका छन् । डा. महतले आफू अर्थमन्त्री भएको समयमा यस्तो थाहा पाएको र छानबिन समिति बनाएर काम गरेको तर पछि सरकार फेरिए पछि अन्योल रहेको भन्दै नियमन गर्न बोर्डलाई आग्रह गरेका छन् ।









