
काठमाडौं । यही भदौ २१ गते अर्थात् हरितालिका तीजबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘देवी’को नयाँ गीत ‘सेलाइदेउ खोलामा’ सार्वजनिक गरिएको छ । लिरिकल गीतमा समीक्षा अधिकारी र सज्जा चौलागाइँको पाश्र्व गायन रहेको छ भने सुष्मा सिग्देलको शब्द रचना तथा सुशान्त गौतमको संगीत छ । गीतले महिलालाई हेर्ने दृष्टिकोण र गरिने व्यवहारप्रति प्रश्न गर्छ । गीतका शब्दहरू शक्तिशाली छन् । क्राइम-थ्रिलर नजारामा तयार भएको ‘देवी’लाई सञ्जोग राईले निर्देशन गरेका हुन् । यसमा शिल्पा मास्के, टीका पहारी, गौरव पहारी, नाजिर हुसेन, ध्रुव कोइराला, प्रभाकर न्यौपाने आदिको अभिनय छ । फिल्मले बलात्कारको घटनामा कानुनले पार्ने प्रभावको कथा रहेको छ । एक्जिबिट स्टुडियोको प्रस्तुतिमा तयार भएको फिल्ममा ‘कबड्डी’ निर्माण कम्पनी बाँसुरी फिल्म्सले सहकार्य गरेको छ । निर्देशक राईले अजय गौतमको सहयोगमा स्क्रिप्ट तयार पारेका छन् ।









