
काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहमा रिक्त रहेका विभिन्न पदको उपनिर्वाचन आगामी मंसिर १६ गते आइतबारका दिन हुने तय गरेको छ । निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनलाई व्यवस्थित रुपले संचालन गर्न आयोग र अन्तर्गतका कार्यालयहरुले सम्पादन गर्ने कार्यहरुलाई समयवद्ध रुपमा समावेश गरी कार्यतालिका स्वीकृत गरको हो । कार्यतालिका बमोजिम निर्वाचन प्रयोजनका लागि राजनीतिक दलको दर्ताको सूचना यहि असोज ९ गते प्रकाशन गरी असोज १० देखि १६ गतेसम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्ने, असोज २० गते दल दर्ता स्वीकृत गर्ने, निर्वाचन सम्बन्धि निर्देशिका, कार्यविधी, मापदण्ड तथा आचारसंहिता तयारी गर्ने, निर्वाचन सामाग्री, जनशक्ति व्यवस्थापन, मतदाता शिक्षा, तालिम तथा क्षमता विकास लगायतका कार्यक्रम संचालन गर्ने, कार्तिक २६ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तथा मतदान स्थल निर्धारण गर्ने, कार्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, मङ्सिर २ गतेदेखी निर्वाचन कार्यक्रम संचालन गर्दै १६ गतेसम्म मतदान गर्ने लगायतका ६२ वटा क्रियाकलाप सहित निर्वाचन कार्यतालिका स्वीकृत भएको आयोगले जानकारी दिएको छ । त्यसैगरी नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भएको बताएका छन् । पार्टी केन्द्रिय कार्यालय सानेपामा एक महिने विशेष अभियानको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् । उनले पार्टीले संसदमा रास्वपा सभापतिबारे उठाएका प्रश्नहरु अहिले प्रमाणित भएको दाबी गरेका छन् । उनले संसदीय छानबिन विशेष समिति गठन गर्दाताका रास्वपा सभापति लामिछानेले सहकारी रकम ठगी गरेको भन्नेबारे आफूलाई विश्वास नलागेको भएपनि अहिले प्रमाणित भएको भन्दै पार्टीका महामन्त्री गगनकुमार थापालाई सो विषय उठान गरी समिति बनाउन दबाब दिन लगाएकोमा धन्यवाद दिएका छन् । उनले रवि लामिछाने चलाख मान्छे भएको भन्दै पार्टी महामन्त्री थापाले उठाएका आवाजहरु सही भएको बताएका छन् । यसैबीच मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । काठमाडौं जिल्ला अदालतले व्यवसायी प्रसाईँलाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिइएको हो । जिल्ला अदालतका सूचना अधिकारी मेलिस बास्कोटाका अनुसार उनीविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गतको कसूरमा अनुसन्धान गर्नका लागि पक्राउ अनुमति दिइएको हो । झन्डै १५ दिन अगाडि उनीविरुद्ध प्रहरीको साइबर व्युरोमा उजुरी दर्ता भएको थियो ।









