
– अर्जुननरसिंह के.सी. –
जेलबाट रिहा भएपछि पार्टी प्रतिबन्धका बाबजुद उहाँ केही वर्ष नेपालमै सक्रिय हुनुहुन्थ्यो । बीपी, गणेशमान सिंह लगायतका नेताहरु निर्वासनमा भारत गएपछि उहाँ पनि निर्वासनमा जानुभयो । निर्वासनमै उहाँले एम.ए सम्मको पढाई पूरा गर्नुभयो ।
त्यसबेला निर्वासनबाट नेपालमा चलेको सशस्त्र आन्दोलनलाई उहाँले गति दिनुभयो । आफ्नो औपचारिक अध्ययन पूरा गर्नेदेखि २०२५ सालमा तरुण दलको मुखपत्र तरुण को सम्पादक भएर सक्रिय रहने, सशस्त्र कारबाहकिो लागि हतियारको जोहो गर्नदेखि जासुसहरुको पिछा पन्छाएर बीपी र पुष्पलाललाई भेट गराउने आदि अनेकौ गतिविधिमा उहाँ अहोरात्र अथक रुपमा खटिरहनु हुन्थ्यो ।
२०३१ मंसिर ३० गते सोलुखुम्बुको तिङ्लास्थित टिम्बुरबोटे जङ्गलमा भएको काँग्रेसका मुक्ति सेना र शाही सेनाका बीच सैन्य भिडन्तको परिणामस्वरुप पार्टीको ओखलढुङ्गा कब्जा रणनीति विफल भएको थियो । त्यहाँ उपयोग भएका हतियारहरु शैलजा आचार्यले रुपचन्द नाहटाको साथ सहयोग लिएर भारतमा कुन साहसका साथ बटुल्नुभएको थियो, उहाँ इतिहास बताउनु हुन्छ, हतियार संकलन गर्ने सबैभन्दा सजिला व्यक्ति भनेका डाका नै थिए, त्यसैले उनीहरुको माध्यमबाट हतियार संकलन गरेर नेपाल भित्र्याउने काम गर्न थाल्यौ । भारतमा संकलन गरेको हतियार बोर्डर हुँदै नेपाल ल्याउन म खटिएको थिएँ । उनीहरु जताजता जान्थे, म पनि सँगसँगै हिँड्नुपथ्र्यो । एक त केटीमान्छे त्यसमा पनि हतियार संकलन गर्न डाकाहरुसँगै हिँड्नुपर्ने चानचुने काम त होइन नि । तै पनि खोई ममा त्यो साहस र आँट कसरी पो आयो । मलाई केटीजस्तो नदेखियोस् भनेर मैले केटाको जस्तो छोटो कपाल काटेको थिएँ । केटाको जस्तै जिन्स पाईन्ट लगाउँथे, त्यसैले म उनीहरुसँग हिँड्दा हत्पत कसैले केटा हो कि केटी हो भनेर छुट्याउन सक्दैनथे । हतियार संकलन गर्नको लागि म डाकासँग रातभर हिँडेको छु, उनीहरु जहाँ बस्थे म पनि त्यही बस्थे, तर कोठा भने अलगै दिन्थे । तिमीहरु हामीसँग हिँडदा डर लाग्दैन भनेर सोध्ये । केही गर्लान् कि भन्ने डर त भईहाल्दो रहेछ । उनीहरुले मलाई भने केही पनि गरेनन् । उनीहरुले मलाई सुत्नका लागि छुट्टै कोठा दिएका थिए । मलाई तिमी यहीँ बस हामी जान्छौ भनेर उनीहरु जान्थे । उनीहरुले हतियार संकलन गरेर मलाई दिन्थे, म बोर्डर हुँदै नेपालमा ल्याउने काम गर्थे । हतियार संकलन गर्ने क्रममा म पञ्जाब र राजस्थानको कुनाकुनामा घुमेको छु ।
शैलजाजीको जीवन यस्तै साहसिक कार्यले भरिएको छ । २०३३ पुस १६ गते राष्ट्रिय मेलमिलापको सन्देशसहित नेताहरु स्वदेश फर्किएको समुहमा उहाँ पनि हुनुहुन्थ्यो । स्वदेश फर्किएपछि उहाँको दिनचर्या शान्तिपूणर् राजनीतिमै बित्यो । २०४२ सालको सत्याग्रहमा उहाँको सक्रिय सहभागिता वा २०४४ सालमा पदयात्रा अभियान चलाएर मोरङ जिल्लाका २४ वटै गाउँमा पुगेका कार्यक्रम, २०४६ सालको जनआन्दोलनमा उहाँको सक्रियता उल्लेखनीय छन् । मुलुकी ऐन एघारौ संशोधन गराउनमा उहाँको महत्वपूणर् भूमिका छ । आफ्नै संयोजकत्वमा व्यापक छलफल गराएर त्यसलाई विधेयकको रुप दिन उहाँ सफल हुनुभयो ।
२०४८ र २०५१ का संसदीय निर्वाचनमा मोरङ ७ बाट निर्वाचित हुनुभएको उहाँ कृषिमन्त्री हुँदा विद्यमान भ्रष्टाचारका विरोध गरेर बरु पदबाट राजीनामा दिन तयार हुनुभयो । त्यसपछिका दिनमा सुकुम्बासी समस्या समाधान आयोगको अध्यक्ष पनि हुनुभयो । २०५५ सालमा उहाँ जलस्रोत मन्त्रीको जिम्मेवारीसहित नेपालको पहिलो महिला उपप्रधानमन्त्री हुनुभयो । साथै २०५३ सालमा नेपाली काँग्रेसको पहिलो उपसभापति पनि उहाँ नै हुनुभयो । आफ्ना मावली हजुरबा (बीपी तथा गिरिजाप्रसादका पिताजी) कृष्णप्रसाद कोइराला गुठीका पनि उहाँ संस्थापक हुनुहुन्थ्यो । क्रमशः









