
भरत भूर्तेल
धनुषा जिल्लाका एक सय एक गाउँ पञ्चायतका प्रमुख चौकमा २०४६ साल फागुन ७ गते जम्मा भएर पार्टीका झण्डा प्रदर्शनसहित नाराजुलुसका कार्यक्रम तय गरिएका थिए ।
हिँड्दैछ पाइला मेट्दैछ ः
नेपाली काँग्रेसको नेतृत्वमा गठन भएको सरकारले बेग्लै युगको प्रतिनिधित्व गर्दथ्यो । पञ्चायती व्यवस्थाको पतनपछिको यो समय राणाहरुको जहाँनिया शासनको अन्त्यपछि नेपालमा भित्रिएको नवीन युगसँग तुलनीय थियो । नयाँ सरकारले पक्कै मुलुकका लागि नयाँ काम गर्नेछ भन्ने आशा र आकांक्षा जनमानसमा थियो । यद्यपि,यस आकांक्षाअनुरुप आंशिक रुपमा मात्र काम भयो भन्नुपर्ने हुन्छ । नेपाली काँग्रेसको त्यस सरकारले गरका काम पञ्चायती व्यवस्थाको अन्त्यपछि आजसम्मको समयमा भएका काममध्ये उल्लेखनीय रहे पनि जनअपेक्षा त्यतिमात्र थिएन । अर्को कुरा प्रारम्भिक वर्षहरुमा भएका कामले निरन्तरता पाएनन् र मुलुक विस्तारै जटिल परिस्थितितिर धकेलिंदै गयो ।
यसो किन भयो त ? रामवरणजी बेलामौकामा सोच्नुहुन्छ र के निष्कर्षमा पुग्नु हुन्छ भने, नेपाली काँग्रेसका शीर्षस्थ नेताहरुमा मुलुकका प्रति न्यूनतम समझदारी कायम हुन सकेको भए सम्भवतः नेपालको मुहार बेग्लै हुने थियो । बेलाबेला उहाँ छिमेकी भारतका नेताहरु मोहनदास करमचन्द गान्धी, जवाहरलाल नेहरु, सरदार बल्लभ भाइ पटेलजस्ता नेताहरुबीचको समझादारीले आजको हिन्दुस्तानको जग बलियो बनाएको निष्कर्षमा पुग्नु हुन्छ र नेपालमा नेपाली काँग्रेसका उपल्लो तहका नेताहरु गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाबीचको सम्बन्ध र दृष्टिकोण सम्झेर दुखित हुनुहुन्छ । आखिर संघर्षले खारिएका यस देशका नेता पनि कम थिएनन् तथापि कतै न कतै चुक भयो र यसको परिणाम मुलुकले आफ्ना देशका नेताहरुको क्षमताबाट फाइदा उठाउन सकेन । यसका पछि नेपाली काँग्रेसभित्र र बाहिरका कारण थिए । कृष्णप्रसाद भट्टराई निर्वाचनमा हार्नु भयो । यस हारका लागि नेपाली काँग्रेस मनोवैज्ञानिक रुपले तयार थिएन । विशेषगरी काँग्रेसका सर्वोच्च नेता गणशमान सिंह भट्टराईको हारले स्तब्ध हुनुभयो । उहाँ स्वयं प्रतिस्पर्धाको राजनीतिमा हुनु हुन्नथ्यो तर उहाँका छनोटको प्रतिस्पर्धी कमजोर सावित हुनुभयो । प्रतिस्पर्धा जितेर आएका गिरिजाप्रसाद कोइराला भने गणशेमानजीको रुचिको व्यक्ति हुनु हुन्नथ्यो । तथापि सरकारको नेतृत्वका लागि गणशेमानजीका सामु कोइरालाको विकल्प थिएन । संसदीय दलमा कोइरालाका पक्षमा प्रचण्ड बहुमत थियो । गिरिजाप्रसाद प्रानमन्त्री हुुनुभयो तर आफ्नै पार्टीका सर्वोच्च नेताको मन यस घटनाको खुसी थिएन । गणेशमानजीको मनस्थितिको प्रतिबिम्म नेपाली काँग्रेसभित्र व्याप्त थियो । अर्थात् पार्टीको एउटा पंक्ती कोइराला प्रधानमन्त्री हुनुभएकोमा प्रशन्न थिएन । अर्कातिर साम्यवादी शासन व्यवस्थाको आकांक्षा राख्ने नेकपा एमाले प्रमुख प्रतिपक्षमा थियो । वर्षौको भूमिगत जीवनबाट हठाथ सतहमा आएको यो शक्ति नेपाली काँग्रेसका प्रति स्वाभाविक रुपमा अनुदार थियो । कतिपय एमालेका नेताकार्यकर्ता नेपाली काँग्रेसलाई प्रमुख शत्रु मान्दथे । एकअर्काबीच खासै परिचयसमेत नभएका नेपाली काँग्रेस र एमालेका कार्यकर्ताबीच सामाजिक सम्बन्धको नातासमेत थिएन । नेपाली काँग्रेसका मानिस एमालेलाई देख्दा तर्सिन्थे र एमालेका मानिस काँग्रेसलाई देखेर झस्किन्थे ।
यसको परिणाम के भयो भने सरकार गठनको केही दिनपछि नै देशव्यापी रुपमा कर्मचारी आनदोलन सुरु भयो । विविध माग राखेर उनीहरु सरकार विरुद्ध ओर्लिए । सरकारले कर्मचारीका मागलाई प्राथमिकता दिएन । भर्खरै गठन भएको सरकारका विरुद्ध देखिएका आफू मातहतका कर्मचारिप्रति सरकारसमेत तसका मस भएन तर कर्मचारीको आन्दोलन शिथिल प्रायः भएका बेला एमाले स्वयं सडकमा ओर्लियो । क्रमशः









