
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको अहिलेकै व्यवस्थामा भविष्य खोज्न सक्नेगरी जनतालाई भरोसा दिलाउन सक्नुपर्ने बताएका छन् । काठमाडौंमा महेन्द्रनारायण निधिको संघर्षमय जीवनीमा आधारित नेपालका निधि नामक पुस्तक लोकार्पण गर्दै राष्ट्रपति पौडेलले समाजमा पछाडि परेका क्षेत्र र वर्गको हित अनि आम नागरिकको जीवनस्तर सुधार गर्दै अहिलेकै व्यवस्थामा भविष्य खोज्न सक्ने गरी जनतालाई भरोसा दिलाउन सक्नुपर्ने बताएका हुन् । संघीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य पूरा गर्न समावेशी र समृद्ध आधुनिक नेपाल बनाउने काममा सबै जुट्नुपर्ने उनले बताएका छन् । राष्ट्रपति पौडेलले जनतामा भरोसा जगाउनका लागि शासन प्रणाली पारदर्शी जवाफदेही र सुशासन पहिलो शर्त भएको उल्लेख गरेका छन् । उनले सत्ता र शक्तिमा बस्नेका कमजोरीले लोकतन्त्रका शाश्वत मूल्य मान्यतालाई धूमिल बनाउने अवस्था आउन दिन नहुने बताएका छन् । त्यस्तै राष्ट्रपति पौडेलले महेन्द्रनारायण निधि नेपालको लोकतान्त्रिक आन्दोलनको अग्रणी व्यक्ति भएको बताउँदै देशको राजनीति, आर्थिक र सामाजिक परिवर्तनका लागि आफ्नो जीवन समर्पित गरेको स्मरण गरेका छन् । यसैबीच नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले मुलुकको वर्तमान संसदीय व्यवस्थाले देशलाई गम्भीर परिस्थितिको भुमरीमा धकेलेको बताएका छन् । पार्टीको ११ औँ पुनर्गठन दिवसको सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले विश्वको सबैभन्दा लोकतान्त्रिक संविधानको भनी प्रचार गरिएको संविधान निर्माणपछि भएका निर्वाचनले देशमा आर्थिक र सामाजिक संकटतर्फ धकेलेको टिप्पणी गरेका हुन् । उनले नेपालमा कम्युनिस्ट आन्दोलन सुरु भएको ७५ वर्ष पूरा भए पनि कम्युनिस्ट आन्दोलनका उद्देश्यहरू अझै सफल नभएको बताएका छन् । उनले कम्युनिस्ट विचार भनेको दुनियाँको सबैभन्दा वैज्ञानिक र अग्रगामी विचार भए पनि नेपालमा यसले सार्थकता नपाएको उल्लेख गर्दै कम्युनिस्ट आन्दोलनको इतिहासको गम्भीर समीक्षा गर्ने बेला भएको बताएका छन् । नेपालको सामन्ती, दलाल पुँजीवादी वर्गले नेपाली जनतामाथि राज्यसत्ताद्वारा शासन गरिरहेको उल्लेख गर्दै उनले आफूहरूले त्यसका विरुद्ध विगत १० वर्षदेखि निरन्तर सङ्घर्ष गरिरहेको बताएका छन् । त्यसैगरी काठमाडौंको माइतीघरमा प्रहरी र सहकारी पीडितबीच प्रदर्शनका क्रममा झडप भएको छ । थापाथलीतिरबाट आएको सहकारी पीडितको जुलुसलाई प्रहरीले नेपाली सेनाको मुख्यालय प्रवेश गर्ने गेट नजिकै रोक्न खोज्दा झडप भएको हो । झडपमा केही प्रदर्शनकारी घाइते भएका छन् । एक जनाको टाउको फुटेको बताइएको छ । सहकारीमा वचत गरेको रकम फिर्ता नपाएकाहरुले आफूहरुको रकम फिर्ता पाउनुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए । ललितपुरको पुल्चोकमा भेला भएका सहकारी पीडितहरु नाराबाजी गर्दै माइतीघरतर्फ आएका थिए । माइतीघर नजिकै आइपुग्दा निषेधित क्षेत्रमा प्रवेश गर्न लागेको भन्दै प्रहरीले बल प्रयोग गरेको बताइएको छ ।









