
काठमाडौं । चितवन, भरतपुर महानगरपालिका–४ रामघाटस्थित सडकमा बा.प्र.०३–००१ च १२४४ नम्बरको बोलेरोको ठक्करबाट सोही ठाउँ बस्ने ४५ वर्षीया नुरजहान खातुनको साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बझाङ, तलकोट गाउँपालिका–२ सुकगाडस्थित सडकमा से.१ ज ८४३ नम्बरको जीप सडकबाट करिब २ सय मिटर तल खसेर राति दुर्घटना हुँदा जीपमा सवार ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा चालक केदारस्युँ गाउँपालिका–१ रायल बस्ने ३३ वर्षीय शम्शेर मल्ल, तलकोट गाउँपालिका–४ बस्ने ३६ वर्षीय बम बहादुर धामी, उनकै छोरी ५ वर्षीया आकृति धामी र ७२ वर्षीया जोगेनी देवी धामी रहेका छन् । दुर्घटनामा शम्शेर, बम बहादुर र जोगेनी देवीको घटनास्थलमै र आकृतिको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।









