
काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता एनपी साउदले पनि प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । कांग्रेस बर्दियाले पार्टी कार्यालयमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै साउदले प्रधानमन्त्री ओलीको अभिव्यक्ति कांग्रेस–एमाले सहमति विपरीत भएको भन्दै आपत्ति जनाएका हुन् । पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका नेता साउदले प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्ति र गठबन्धनको औचित्य तथा सान्दर्भिकताका विषयमा कांग्रेसले सोच्न आवश्यक रहेको बताएका छन् । नेता साउदले सरकारलाई जनताका समस्या समाधानका लागि केन्द्रित हुन पनि आग्रह गरेका छन् । जनताले महसुस हुने गरी सुशासनको प्रत्याभूति दिलाउने गरी सरकारले काम गर्नुपर्नेमा उनको जोड थियो । कांग्रेसको कार्यदिशा जनताका अपेक्षा र देशका समस्या समाधान गर्ने भए पनि त्यस्तो हुन नसकेको साउदको भनाइ थियो । यसैबीच नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपमहासचिव वर्षमान पुन, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, वरिष्ठ नेता बेदुराम भुसाल लगायतका नेताहरूबीच छलफल भएको बताइएको छ । उनीहरूबीच संयुक्त समाजवादी मोर्चा लगायतका विषयमा छलफल भएको नेताहरूले जनाएका छन् । पछिल्लो राजनीतिक घटनाक्रम लगायतका विषयमा पनि छलफल भएको बुझिएको छ । त्यसैगरी जनयुद्वको विषयमा चौतर्फी चर्चा भईरहेको वेला माओवादीहरु एक ठाँउमा बसेर जनयुद्व दिवस मनाउन चाहेको नेकपा कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लबले वताएका छन् । जनयुद्वको रक्षाको लागि माओवादी एक भएर मात्र नहुने भन्दै अझै थुप्रै काम गर्न वाकी रहेको उनको भनाई छ । पार्टीको एक कार्यक्रममा सहभागी हुन महोत्तरी पुगेका महासचिव विप्लवले नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकल दाहाल ‘प्रचन्ड’ले केन्द्रिय कमिटि बैठकमा पेश गरेको राजनीति प्रतिवेदनलाई लिएर असन्तुष्टि जनाएका छन् । दुवै अध्यक्षको प्रतिवेदन संसदीय गोलचक्करमा घुमेको वताउँदै एकले अर्कोलाई आरोप लगाउने वाहेक केही पनि नरहेको उनको भनाई छ । तर माओवादी केन्द्रसँगको एकता प्रक्रियामा भने आफु नरम नै भएको बताउदै केन्द्रिय समितिको वैठकमा माओवादी केन्द्रले वनाएको कार्यदल स्वागतयोग्य भएको धारणा राखेका छन् ।









