
काठमाडौं । चौदण्डीगढी नगरपालिका–३ बस्ने यम बहादुर पुलामी मगरको घरबाट सुनका विभिन्न गरगहना गरी करिब ९ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल दिउँसो चोरी भएको छ । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका–२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ६ सय ७० मिलिग्राम सहित गोदावरी नगरपालिका–१ अत्तरिया बस्ने सुर्खेत बीरेन्द्रनगर नगरपालिका–१४ घर भएका ३० वर्षीय अवतार हुसेन मातरलाई दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैबीच बर्दिया, गुलरिया नगरपालिका–११ गणेशपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय मिलिग्राम सहित सुर्खेत बीरेन्द्रनगर नगरपालिका–४ भैरव स्थान बस्ने ५० वर्षीय प्रेम पन्तलाई बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।









