
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्लाले मार्सी धान खरिद प्रक्रिया अगाडि बढाएको छ । प्रथम चरणका खरिदका लागि दुई सय कोटा स्वीकृत भएको छ । चालू आर्थिक वर्ष २०८१/०८२ मा कम्पनीको प्रस्ताविक वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत नेपाल सरकार मन्त्रपिरिषद्को गत असार २० गतेको निर्णयअनुसार मार्सी धान खरिद गर्न लागिएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी लक्ष्मण शर्माका अनुसार प्रतिक्वीन्टल १२ हजार रुपैयाँमा मार्सी धानको खरिद प्रक्रिया सुरु गरिएको छ । जिल्ला कृषि विकास कार्यालय, कृषि अनुसन्धान केन्द्र, उद्योग वाणिज्य संघ र स्थानीय चलनचल्तीमा रहेको मूल्य समायोजन गरेर धानको मूल्य तोकिएको सूचना अधिकारी लक्ष्मण शर्माले बताएका छन् । गत असोज २३ गते नै मार्सी धान खरिद कार्य सञ्चालन गर्न कम्पनीको खरिद विभागले पत्र पठाइसकेको थियो । खरिद विभागले तोकेको मापदण्ड अनुसारको मार्सी धान पाइने, नपाइने अन्योलता छ । ‘मार्सी धानको खरिद कोटा तोक्नु किसानहरूको हितमा छ,’ सूचना अधिकारी शर्माले भने, ‘खरिद विभागले तोकेको मापदण्ड अनुसारको मार्सी धान पाइने हो या नपाइने हो भन्ने चिन्ताको विषय बनेको छ ।’ खरिद विभागको मापदण्ड अनुसारको धान खरिदका लागि पहिलो चरणमा प्राविधिक टोली खटिएको छ । टोलीको प्रतिवेदनका आधारमा किसानहरू घरदैलोमा पुगेर धान खरिदको काम अघि बढ्नेछ । मार्सी धान घरमै बेच्न पाइने भन्दै किसान खुसी भएका छन् । प्रतिकेजी मार्सी चामल एक सय ७० रुपैयाँमा बेच्दै आएका किसानहरू धान बेच्न पाउँदा निकै उत्साहित देखिन्छन् । खरिद विभागले मार्सी धान खरिदको लागि १८ प्रतिशत चिस्यान हुनुपर्ने, बाह्य पदार्थ २ प्रतिशतभन्दा बढी मिसिएको हुन नहुने, ५ प्रतिशतभन्दा बढी बिग्रेको दाना भेटिन नहुने र ८ प्रतिशतभन्दा बढी मिश्रण हुन नहुने गरेर मापदण्ड तोकेको छ । धान जिउँदो किरारहित, एकहन सफा, ढुसी नपरेका, कुनै अवाञ्छित गन्ध नभएको मानव उपयोगको लागि योग्य हुनुपर्ने छ । रोडा, ढुंगा, माटो, बालुवा तथा जैविक वस्तु मिसावट हुन नहुने मापदण्डमा उल्लेख गरिएको छ । एक क्वीन्टल धान खरिद गर्दा ६५ केजी चामल आउनुपर्ने हुन्छ । तर, मार्सी धानको गुणस्तरका आधारमा खरिद गर्ने र मार्सी चामलको प्रोत्साहनमा जोड दिनुपर्ने देखिन्छ । जुम्लामा कूल २ हजार ९ सय ५० हेक्टरमा धान खेती हुने गरेकोमा १ हजार २ सय हेक्टरमा मात्र मार्सी धानको खेती हुने गरेको कृषि विकास कार्यालय जुम्लाको तथ्यांक छ ।









