
–परमानन्द झा–
सो प्रोजेक्टमा काम गर्ने स्टाफलाई स्वास्थ्य विभागले लिने सोच बनाएको रहेछ । मलाई त्यहाँबाट विराटनगर जाने सल्लाह दिइयो । विराटनगर गएको खण्डमा मेरो जागिर पक्का भन्ने शर्त पनि थियो । त्यसैले म विराटनगर लागेँ ।
विराटनगरमा मलाई बस्नका लागि क्वाटर पनि दिइएको थियो । पढाइमा पनि कुनै बाधा थिएन किनकी विराटनगरमा पनि कानुनको पढाइ सुरु हुँदै थियो । अर्को कुरा मलाई विराटनगर हेर्ने इच्छा पनि थियो । म मात्र हैन, अन्य डाक्टरहरु पनि विराटनगर जानुभएको थियो । त्यसमा मैले चिनेको डा. पीताम्बर झा पनि पर्नुहुन्छ । मलाई काठमाडौभन्दा विराटनगरमा एकदमै सजिलो भयो । विराटनगरको महेन्द्र मोरङ कलेजमा पढ्ने सोच बनाएको थिएँ । त्यहाँ गएको एक वर्षपछि कानुनको पढाइ सुरु भयो, जुन एकदम गुणस्तरीय थियो । मेरो कानुनको पढाइ सुचारु भयो । महेन्द्र मोरङमा कानुन पढ्ने हामी पहिलो व्याज हौँ । हाम्रो यो व्याचमा नौ जना थियौ । मेघराज विष्ट र कालीकुमारलाल दास अदालतमा प्राक्टिस गर्नुहुन्थ्यो र साँझ कलेजमा नेपाल कानून पढाउनु हुन्थ्यो । विपुलेन्द्र चक्रवर्तीले पनि हामीसँगै पढ्नुभएको हो ।
विराटनगरमा पढे पनि परीक्षा दिन चाहिँ काठमाडौ नै आउनुपर्थ्यो । बिएलको परीक्षा दिन काठमाडौ आएँ र पास पनि भएँ । वि.सं. २०२६/०२७ सालमा म कानुनमा ग्य्राजुएट भएँ ।
मेरो पढाइ र जागिर दुवै चलि नै रहेको थियो । मैले त्यहाँ काम त गरिरहेको थिएँ तर स्वास्थ्य क्षेत्रमा आफ्नो भविष्य छैन भन्ने मलाई बोध भइरहेको थियो । पढुन्जेलसम्म मलाई त्यो काम रमाइलो लाग्यो । त्यस बेला विराटनगर पनि सानो बजार नै हो । कानुनमा स्नातक गरिसकेपछि चाहिँ मलाई त्यो जागिर मन पर्न छाड्यो । म आफ्नो भविष्य सोच्न थालिसकेको थिएँ । मलाई कसैले सम्झाएको होइन । ममा जोस थियो । न्यायसेवामा लोकसेवा परीक्षा दिने सोच ममा पलायो । न्यायाधीश बन्नु नै मेरो भविष्यको गन्तव्य हो भन्ने मलाई लाग्न थाल्यो । न्यायसेवाको लोकसेवा दिन पनि मैले काठमाडौ आउनै पर्थ्यो । एक दिन लोकसेवा दिन भनेर काठमाडौ आएँ पनि । क्रमशः









