
– अर्जुननरसिंह के.सी. –
सहिद थीरबम मल्ल :
वीरगञ्ज मोर्चामा सहिद हुनुभएका सो क्षेत्रका कमाण्डर थीरबम मल्ल वीरगञ्ज कब्जाको सिलसिलामा २००७ साल कात्तिक २६ गते सहिद हुँदा मात्र २६ वर्षको हुनुहुन्थ्यो । सैनिक शिक्षा वा तालिम लिएका उहाँ अत्यन्त उत्साही, क्रान्तिका लागि ऊर्जाशील र प्रजातन्त्र स्थापनाका लागि समर्पित, पार्टीका युवा नेता हुनुहुन्थ्यो ।
गलकोट (बाग्लुङ्ग) का राजा भरतबम मल्लका छोरा तथा काँग्रेस नेता सुवर्ण शम्शेरका भानिज थीरबम राजनीति र सैन्य रणनीति दुवै विधामा पोख्त व्यक्तित्व हुनुहुन्थ्यो । उहाँको जन्म १९८१ साल भदौ ३० गते बाग्लुङ्गको गलकोट दरबारमा भएको थियो । काठमाडौका दरबार हाइस्कुल र त्रिचन्द्र कलेजमा पढाइ पूरा गरेपछि भारतको दार्जिलिङ्ग र देहरादूनबाट सैनिक अधिकृतको प्रशिक्षण उहाँले पूरा गर्नुभएको थियो । सुवर्ण शम्शेरको कमाण्डको जिम्मामा परेको वीरगञ्ज मोर्चामा थीरबमजीको जिम्मेवारी अनुरुप वीरगञ्जबाटै सुरु भएको थियो २००७ सालको जनक्रान्ति ।
रातको समयमा सामान्य हतियार लिएर थीरबम मल्ल मुक्तिसेनालाई कमाण्ड गर्दै वीरगञ्ज मोर्चामा अघि बढ्नुभयो । त्यही क्रममा उहाँको समूह बडाहाकिमको निवासतिर र पुरनसिंह खवासको नेतृत्वमा अर्को समूह फौजको गारत कब्जा गर्न गएको थियो । बडाहाकिम सोम शम्शेर थिए । गारतलार्य उतै अल्मल्याएर यता बडाहाकिमलाई पक्राउ गरी बन्धक बनाउने रणनीतिअनुरुप त्यो निर्णय लिइएको थियो । रातको समय भएकोले पहरा बसेका सरकारी सुरक्षाकर्र्मीहरु उँगिरहेका थिए । तिनीहरु मुक्तिसेनाको गिरफ्तारीमा परे । पक्राउ परेका १७ जवानमध्ये ७ जनालाई थीरबमजीले नै छानेर आफैँसँग लगी बडाहाकिमलाई बन्धक बनाउने कारबाहीमा लगाउनुभयो । बडाहाकिमले आफ्नो सुरक्षाका निम्ति बोलाउँदा बोलाउँदै कोही आइनपुगेको हुनाले उनी सपरिवार मुक्तिसेनाबाट गिरफ्तारीमा परे ।
वीरगञ्ज कब्जा गर्न मुक्ति सेनालाई १५ घण्टाको घमासान लडाई गर्नुपरेको थियो । २००७ सालको जनक्रान्तिका क्रममा सोही आक्रमणका सिलसिलामा तेजबहादुर क्षेत्रीले वीरगति पाउनुभयो, क्रान्तिको मूल्यांकनमा वीरगञ्ज मोर्चाको त्यो सहादतलाई नै पहिलो मानिएको छ । सहिद क्षेत्री, राणाकालमा जबरजस्ती विस्थापित भएरु दार्जिलिङको मार्गरेट होप्स् चियाबगानमा पुगेको श्रमिक परिवारमा जन्मिनुभएको थियो ।
बडाहाकिमलाई पक्राउ गरी बन्धक बनाएर मुक्तिसेनाका केही जवानलाई उनको सुरक्षामा राखेपछि थीरबमजी वीरगञ्ज व्यारेकतर्फ जानुभयो, जहाँ घमासान दोहोरो फायरिङ भइरहेको थियो । त्यो फायरिङबाट सर्वसाधारण जनतामा ठूलो त्रास र भयको अवस्था बनेको थियो । यस्तो अवस्थामा सर्वसाधारणलाई सान्त्वना र सम्झाईबुझाई गर्नुपर्ने भएको हुनाले स्थानीय गोश्वारा निकट भेला भएका वीरगञ्जबासीहरुलाई उहाँ शान्त र धैर्यसँगरहन एवं मुक्तिसेना जनताको सेना भएको हुनाले यसबाट कत्ति पनि डर नलिन बताइरहनु भएको थियो । त्यसैबेला परवानीपुरतिरबाट आएको सरकारी सेनाका जवानमध्ये एउटाले नजिकै आएर उहाँलाई नै ताकी गोली चलायो । गोली टाउको र पेटमा लाग्यो । उहाँ त्यहीँ बेहोस भएर ढल्नुभयो । हत्यारा भाग्यो । सरकारी सेना छोडेर मुक्तिसेनामा लागेका जवानहरुले उहाँलाई सीमावर्ती सानो शहर रक्सौलको डङ्कन अस्पतालमा पुर्याए । बेहोस अवस्थामै उहाँको डङ्गन अस्पतालमा वीरगति भयो । सो मोर्चामा मुक्तिसेनाका अन्य आठजना घाइते भए ।
थीरबम मल्लको सहादतले क्रान्तिकारीहरुलाई ठूलो धक्का लाग्यो, नेपाली काँग्रेसलाई पनि गम्भीर क्षति पुग्यो, तर पनि वीरगञ्ज मोर्चाको सैन्य कारबाहीमा मुक्तिसेनाले एक ब्रेनगन, पचास थान राइफल, दश थान रिभल्बरसहित धेरै गोलीगठ्ठा हात पार्यो । क्रमशः









