
–परमानन्द झा–
मेरो राजनीतिज्ञ तथा हाकिम साथीहरुले यो उखान मेरो हकमा लागू गरेका थिए ।
ममा पनि गुण थियो । जागिर खाँदा मैले यो ठाउँमा सरुवा हुन्न मलाई यही ठाउँ चाहिन्छ भनेर कहिल्यै आवाज उठाइन । जहाँ जहाँ पठाइदिन्छन् त्यतै त्यतै गएर काम गरिरहेँ । मैले असहमतिका आवाज उठाउन थालेको भए मेरो जागिर नै खाइदिन्थे । हो, पूर्वको मानिसलाई सुदूर पश्चिमाञ्चलका मानिसले रुचाउँदैन । त्यहाँको सोचाइ नै बेग्लै हुन्छ । त्यतातिरका कर्मचारी लगायत अन्य मानिसले पुर्वेलीले मात्र चुस्न आउँछन् । सोचाइ नै त्यस्तै हुन्छ मलाई मेरो वर्णले पनि विद्रोहबाट बचाएको छ । म अरु मधेसीजस्तो कालो पनि थिइन । यही कारणले पश्चिममा सरुवा भए पनि मेरो वर्णबाट म पहाडी हो या मधेसी भन्ने छुट्याउन गाह्रो पर्थ्यो ।
मलाई भाषाले सुरुसुरुमा अप्ठ्यारो पारेको थियो । तर, पछि त्यसले पनि कुनै गाह्रो परेन । सबैभन्दा ठूलो कुरा भनेको बानी हो । पहाडमा धेरै बसेकाले मेरो बानी पनि पहाडियाको जस्तै भइसकेको थियो । त्यो कारणले मलाई कुनै अप्ठ्यारो भएन ।
हामी मधेसी ब्राह्मण हौं । तर वैष्णव होइनौ । झा, मिश्र र ठाकुर थर भएका मैथिल ब्राह्मण हुन् । ब्राह्मणको वर्गीकरण गर्दा मूललाई पनि आधार मानिएको छ । ब्राह्मण ठूलो मूलले हुन्छ । धेरै अगाडिको कुरा हो । दरभङ्गा महाराजको दरबारले विभिन्न मैथिल थरलाई वर्गीकरण गर्यो । वर्गीकरण गर्दा त्यो बेलामा सोइत भन्नेलाई उच्चकोटीको ब्राह्मणमा राखियो ।
ब्राहमण खेती गर्दछन् । पशुपालन गर्छन् । पढाइलेखाइ गर्छन् । त्यो बेलामा कामबाट ब्राह्मणको पद छुट्याइएको थियो । गोत्रबाट पनि ब्राह्मण छुट्याइएको थियो । त्यसपछि छुट्याउने अर्को मूल हो ।
हाम्रो मूल कुश्मारेसवास हो । सबैको मूल भिन्नाभिन्नै हुन्छ । यो मूलबाट कुन वर्गको ब्राह्मण हो भन्ने स्पष्ट हुन्छ । पहिला पहिला ब्राह्मणहरु दुई स्तरका हुन्थे । तल्लो स्तरको ब्राह्मणसँग माथिल्लो स्तरको ब्राह्मणको विवाह प्रायःजसो हुँदैनथ्यो । पछि आएर ज्वाई किन्ने अवस्था आयो । धनी वर्गको तल्लो स्तरको ब्राह्मणले माथिल्लो ब्राह्मणलाई अलि बढी दाइजो दिएर विवाह गर्ने चलन भयो । क्रमशः









