
काठमाडौं । नेपाली फिल्मको एउटा कालखण्डमा एकछत्र राज गरेका अभिनेता राजेश हमाल ८ वर्षपछि ठूलो पर्दामा देखिँदैछन् । आगामी जेठ ९ मा प्रदर्शनमा आउन लागेको फिल्म ‘नरसिंहा अवतार’बाट उनले अभिनयमा पुनरागमन गर्ने भएका हुन् । यसमा उनी एक्सन अवतारमा प्रस्तुत छन् । हालै सावजनिक भएको ट्रेलर हेर्दा उनी अन्यायविरूद्ध लड्ने पात्रको भूमिकामा रहेको बुझ्न सकिन्छ । ८ वर्ष फिल्म प्रस्तावको ओइरो हुँदा पनि काम नगरेका हमाल ‘नरसिंहा’बाट कमब्याक गर्न कसरी तयार भए भन्ने जिज्ञासा धेरैमा छ । उनी यसको मुख्य कारण कथा र आफ्नो चरित्रलाई मान्छन् । सुरूमा ‘नरसिंहा’बाट प्रस्ताव आउँदा उनी काम गर्ने सोचमा थिएनन् । कथा र चरित्रबारे सुनेपछि भने उनी कमब्याकका लागि तयार भएका थिए । नयाँ फिल्ममा काम गर्दा दर्शकले कथा र आफ्नो चरित्रलाई कुन रूपमा लिन्छन् भन्ने खुलदुली सधैं हुने गरेको उनको अनुभव छ ।









