
– प्रा.डा. जयराज आचार्य/ विवेक गौतम –
मानिसहरु यही बाटो भएर काठमाडौ आउनेजाने गर्दथे । पसल बिहानैदेखि राती अबेरसम्म खुल्थ्यो र अत्यन्त व्यस्त हुन्थ्यो । किशुन बाबुले यसमा काम गर्दा मानिसहरुसँगको सम्बन्ध सुदृढ बनाउने तथा विस्तार गर्ने र आफ्नो कुराकानी गर्ने शैली सुधार गर्ने काममा उपयोग गरे । यो पछि गएर उनको आफ्नो विशिष्ट शैली बन्यो किशुन बाबु एउटा हँसिलो, आफ्ना ग्राहकसँग नम्र भएर कुरा गर्ने, समुदायका व्यक्तिहरुसँग घुलमिल हुने र व्यापारका सीपहरु सिक्दैजाने युवा थिए ।
किशुन बाबुले उनका भिनाजुका बाबु क्षेत्र नारायण मल्लबाट विभिन्न समूह र समुदायका व्यक्तिहरुसँग कसरी सुमधुर सम्बन्ध बनाउने भन्ने कुरा सिकेका थिए । क्षेत्र नारायणले किशुनलाई व्यापारको आधारभूत कुराहरु राम्रैसँग सिकाए । पद्मनारायणले सामानहरुको मागको आकलन, मूल्य निर्धारण गर्दथे र काठमाडौ, वीरगंज तथा भारतका विभिन्न स्थानको व्यापारिक भ्रमण गर्दथे । यता किशुनको प्रयास एवं कार्यले व्यापार झन् राम्रो हुन थाल्यो । उनलाई ग्राहकहरुले कृष्ण साहु भन्न थाले ।
उहाँ ग्राहकहरुबीच लोकप्रिय हुन थाल्नुभयो । खासगरी गुरुङ समुदायका मानिसहरुले खुब मनपराउन थाले, किनकी मेरो बुबा कोमलले एजना गुरुङसँग मित लगाउनु भएको थियो । उनीहरुले माइलो बुबा किशुनलाई मित भाई भन्न थाले । धु्रव बाबु भन्छन् । काम राम्रो हुँदैजाँदा पद्म नारायणले किशुन बाबुमा पूर्ण विश्वास गर्न थाले । किशुनले उधारो दिने लिने निर्णयहरु, सामान अर्डर सम्बन्धी कार्यहरु तथा हिसाबकिताब राख्ने लेजर लगायतका काम कुशलता पूर्वक सम्पादन गर्न थाले । उनले हरेक ग्राहकलाई समान व्यवहार गर्दथे । नम्र भाषामा बोल्दथे । उनका यस्ता गुणहरुले गर्दा ग्राहकहरु फेरिफेरि उनैकहाँ सामान लिन आउँथे । पैसाको कमी हुनेहरुबाट सामानको बदला वस्तुभाउ, कुखुरा, बाख्रा, गाई, भैसी पनि स्वीकार गर्ने चलन थियो । यो एक किसिमले सामुदायिक व्यापारको नवीन उदाहरण बन्यो । क्रमशः









