
काठमाडौं । राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले मनसुनजन्य विपद् जोखिम न्यूनीकरण, विपद् प्रतिकार्यका लागि तयारी गर्न तीनै तहका सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बसेको समिति बैठकले समन्वयकारी भूमिका निर्वाह गर्दै मनसुनजन्य विपद् जोखिम न्यूनीकरण, विपद् प्रतिकार्यका लागि तयारी गर्न निर्देशन दिएको हो । समितिको तर्फबाट निर्देशन दिँदै सभापति सोनाम गेल्जेन शेर्पाले बैठकले आगलागी, भूकम्प, मनसुनजन्य विपद् लगायत भविष्यमा हुनसक्ने अन्य विपद् जोखिम न्यूनीकरणका लागि तयारीमा रहन सम्बन्धित निकायलाई निर्देशन दिएको बताएका छन् । बैठकले जोखिम न्यूनीकरण, प्रतिकार्य र विपद् पूर्ण लाभ कार्यहरू तहगत सरकार एवं अन्तर मन्त्रालय समन्वय तथा सहकार्य कायम राख्दै सामाजिक परिचालन मार्फत समेत विपद् व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । यसैबीच परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र जापानका विदेशमन्त्री इवाया ताकेसीबीच टोकियोमा द्विपक्षीय भेटवार्ता भएको छ । जापान भ्रमणमा रहेकी मन्त्री डा राणा र जापानी विदेशमन्त्री ताकेसीबीच टोकियोस्थित विदेश मन्त्रालयमा भेटवार्ता भएको हो । त्यस अवसरमा नेपाल जापान द्विपक्षीय सम्बन्ध, आपसी हित र साझा चासोका विविध विषयमा कुराकानी भएको थियो । भेटका क्रममा मन्त्री डा राणाले नेपालको आर्थिक, सामाजिक लगायतका क्षेत्रमा विगत लामो समयदेखि गर्दै आएको सहयोगका लागि नेपालका तर्फबाट जापान सरकार र जापानी नागरिकलाई धन्यवाद ज्ञापन गरेकी थिइन् । उनीहरुका बीचमा नेपाल जापान सम्बन्धको ७० बर्षे इतिहासका विविध पक्षहरुमा पनि कुराकानी भएको थियो । नेपाल र जापानबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । दुवै देशले आगामी बर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ बार्षिकोत्सव मनाउँदै छन् । भेटका अवसरमा मन्त्री डा राणाले आगामी बर्ष दुई देशको कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ बार्षिकोत्सवको अवसर पारेर जापानी विदेशमन्त्री ताकेसीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएकी थिइन् । त्यसैगरी नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले लोडसेडिङको हल्लामा कुनै सत्यता नरहेको बताएका छन् । विराटनगरमा आयोजित एक कार्यक्रममा शाक्यले अहिले सामाजिक सञ्जालमा अनावश्यक रूपमा लोडसेडिङको हल्ला चलाइएको भन्दै त्यसमा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन् । विश्वसनीय विद्युत् आपूर्ति गरेर त्यस्ता हल्लालाई निराधार बनाइने उनले बताएका छन् । उनले मुलुकमा अहिले विद्युत् अभावको समस्या नरहेको भन्दै अहिले भइरहेको ट्रिपिङको समस्यालाई चाडै नै समाधान गरिने बताएका छन् । शाक्यले विद्युत् आपूर्तिको स्थितिमा बर्षेनि सुधार भइरहेको बताउँदै विश्वसनीय विद्युत् आपूर्ति प्राधिकरणको प्रमुख ध्येय रहेको बताएका छन् ।









