
काठमाडौं । राजनीतिक परिस्थितिका कारण नेपाल प्रदर्शन स्थगित भएपछि फिल्म ‘महाभोज’को अब अस्ट्रेलियामा पहिलो प्रिमियर हुने भएको छ । जुन १ तारिख अर्थात् बैशाख १८ गते आइतबार अस्ट्रेलियाको पश्चिमी शहर पर्थस्थित ग्यालेरिया सपिङ सेन्टरको इभेन्ट सिनेमामा फिल्मको प्रिमियर आयोजना हुने निश्चित भएको निर्माता हिमाल कडरियाले जानकारी दिएका छन् । उक्त दिन साँझ ६ बजेबाट सुरु हुने प्रिमियरको व्यवस्थापन अस्ट्रेलिया वितरक कम्पनी रोटेपिङ इन्टरटेन्मेन्टले गरिरहेको छ । छोटो समय र तयारीको व्यस्तताका कारण फिल्मका कलाकार भने प्रिमियरमा उपस्थित हुने छैनन् । यद्यपि, केही दिनपछि सबै सहरको शोहरूलाई लक्षित गरेर सहभागी हुने जनाइएको छ । नेपालमा जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर फिल्मलाई प्रदर्शन गर्ने तयारी गरिएको थियो । तर, सोही दिन राजधानी काठमाडौं सहित देशभर राजनीतिक अस्थिरता र आन्दोलनको सम्भावित जोखिम देखिएपछि फिल्मको रिलिज अन्तिम घडीमा रोकिएको थियो ।









