
– अर्जुननरसिंह के.सी. –
यसको लागि राजनीतिक कार्यक्षेत्रको रुपमा ओखलढुङ्गा, सोलुखुम्बु, सिन्धुली, जनकपुर र महोत्तरीलाई छान्नुभएको थियो । जनकपुरमा सरोजप्रसाद कोइराला, बोधप्रसाद उपाध्याय, महेन्द्रनारायण निधिसँगको उहाँको घनिष्ठ सम्बन्ध भयो । तरुण दलमा सक्रिय रहँदा उहाँ राष्ट्रिय मुक्ति आन्दोलनका निम्ति बीपी कोइरालाको सम्पर्कमा पुग्नुभयो ।
२०२७ पुस १ गते पञ्चायती संविधान दिवस मनाउँदै रहँदा केशव लगायतका प्रजातन्त्र सेनानीहरु आन्दोलन चर्काउने रणनीति र गतिविधिको खाका तयार गर्दै थिए । त्यसैबेला उहाँलगायत धेरै युवाहरुलाई गिरफ्तार गरी राजकाज सम्बन्धी मुद्दा लगाई जेल चलान गरियो । जलेश्वर हुँदै काठमाडौ चलान गरी केन्द्रीय कारागारमा एक वर्षसम्म थुनियो । जेलबाट निस्केपछि उहाँले आफ्नै कार्यक्षेत्रमा संगठन विस्तार गर्दै तत्कालीन राज्यसत्ता विरुद्ध सशस्त्र आन्दोलनको लागि फौजी दस्ता तयार गर्न थाल्नुभयो ।
घरमा सुत्केरी श्रीमती र भर्खर जन्मेकी छोरीलाई हेर्ने इच्छा पनि दबाएर उहाँ आफ्नो लक्ष्यमा समर्पित हुनुभएको थियो । नेता सरोजप्रसाद कोइरालाको हत्या भएपछि केशव कोइरालामा झन् विद्रोहको भावना पैदा भयो र पञ्चायतविरुद्ध ठूलो जनमत तयार गर्ने अभियानमा जुट्नुभयो । बीपी कोराला र गिरिजाप्रसाद कोइरालालाई भेटी नेपालमा सशस्त्र संघर्ष गर्ने अठोटका साथ हातहतियारसहित भारतीय सीमावर्ति मटिहानीतिर लाग्नुभयो ।
संगठित दस्ता निर्माण गर्ने र सशस्त्र संघर्षको वातावरण बनाउने तयारी गर्दै रहँदा मटिहानीको प्रहरी चौकी उहाँहरुको लागि बाधक बनेको निष्कर्षका साथ २०३१ साउन ३१ गते मध्यरातमा उहाँको नेतृत्वमा प्रजातान्त्रिक योद्धाहरुले आक्रमण गरे । त्यो भिडन्तमा उहाँ प्रहरीको निसाना बन्नुभयो ।
रातमाटो १, ओखलढुङ्गामा २००७ असार ३१ गते पिता पं भवनाथ र माता लालकुमारी कोइरालाबाट केशव कोइरालाको जन्म भएको थियो । उहाँ सानैदेखि जुझारु र लगनशील हुनुहुन्थ्यो । उहाँ साहित्यमा पनि कलम चलाउनुहुन्थ्यो । उहाँको डायरीमा के काइदा उपनामले लेखिएका कविताहरुबाट थाहा हुन्छ ।
रामजनम तिवारी (तिवारी बाबा) :
रामजनम तिवारी २००७ सालको सेरोफेरोमा नेपाली काँग्रेससँग आबद्ध हुनुहुन्थ्यो । पर्सा जिल्लामा काँग्रेसको पहिलो अध्यक्ष रहनुभएका तिवारीले त्यो काँग्रेसको पहिलो अध्यक्ष रहनुभएका तिवारीले त्यो बेलाको जनक्रान्तिमा समर्पित भएर योगदान पुर्याउनु भयो । मधेस आन्दोलन र संघर्षका भिष्मपितामह र गजेन्द्रनारायण सिंहका पनि अग्रज नेता भनेर उहाँलाई सम्झिइन्छ । क्रान्ति सफल भएपछि पनि मधेसीप्रति रहँदैआएको विभेद र अन्यायको अन्त्य नभएको गुनासो उहाँले तत्कालीन गृहमन्त्री बीपी कोइरालासमक्ष राख्दै आउनुभएको थियो । बीपीले भर्खर प्रजातन्त्र आएको र राणाहरु अझै सत्तामा रहिरहेकोले मधेसको हित र अधिकारको लागि केही समय धैर्य गर्न आग्रह गर्नुभएको थियो ।
त्यसपछि उहाँ काँग्रेस परित्याग गरी वेदानन्द झाको अध्यक्षतामा गठित तराई काँग्रेसको महामन्त्री हुनुभयो । नेपाललाई प्रान्तीय संरचनामा लैजानु पर्ने, हिन्दी भाषालाई राज्यले मान्यता दिनुपर्ने आदि माग तराई काँग्रेसले उठाएको थियो । २०१७ सालको निरंकुश कदमपछि तिवारीजी पनि भारतमा निर्वासित हुनुभयो । पटनामा काँग्रेसको आकस्मिक सम्मेलन हुँदा उहाँले, प्रजातन्त्र बिनाको मधेस दासत्वको रुप हो, भन्ने अवधारणाका साथ तराई काँग्रेसलाई नेपाली काँग्रेसमा विलय गराएर प्रजातन्त्र पुनःस्थापनाको संघर्षमा आफूलाई समर्पित गर्नुभयो ।
भारतमा बेलायती शासन रहेको बेला उहाँ त्यहाँको दरोगा (पुलिस इन्सपेक्टर) हुनुहुन्थ्यो । तर, निर्दोष जनतामाथि गोली चलाउने आदेश आएपछि उहाँ जागिर छाडेर स्वतन्त्रता आन्दोलनमा सरिक हुनुभयो । क्रमशः









