
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गेट्स फाउण्डेशनले आयोजना गरेको विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा सम्बोधन गरेका छन् । विकासका लागि वित्तसम्बन्धी संयुक्त राष्ट्रसङ्घको चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्पेन पुगेका ओलीले सो कार्यक्रममा सम्बोधन गरेका हुन् । यसैबीच प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ । विद्यालय शिक्षा विधेयकमाथि छलफल गरी पारित गर्न सिंहदरबारमा बसेको समिति बैठकमा शिक्षा मन्त्री रघुजी पन्तले छलफलका लागि अझै केही समय माग गरेपछि बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको हो । बैठकमा कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले अहिलेको अवस्थामा नै विधेयक पारित भए कांग्रेसलाई स्वीकार्य नहुने बताएका थिए । कांग्रेस सचेतकको धारण र शिक्षामन्त्रीले छलफलका लागि समय माग गरेपछि सांसदहरूले असन्तुष्टि जनाएका थिए । तर, छलफलपछि समिति सभापति अम्मरबहादुर थापाले समितिले सहमति गरेका विषयबाट ब्याक नहुने गरी सहमति कायम गर्न शिक्षामन्त्रीलाई आग्रह गर्दै छलफलका लागि केही दिन बैठक स्थगित गरेका छन् । यसैबीच परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायुजन्य जोखिमलाई कम गर्न यसबाट प्रभावित राष्ट्रहरूका बीचमा दरिलो सहकार्य आवश्यक रहेको बताएकी छन् । इटालीको रोममा जारी राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको ४४औँ महासभाअन्तर्गत आयोजित अतिकम विकसित राष्ट्र तथा भूपरिवेष्ठित र साना टापू राष्ट्रहरूसँग सम्बन्धित उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै उनले जलवायुजन्य जोखिमलाई कम गर्ने योजनामा दरिलो सहकार्यका लागि अब ढिला गर्न नहुने बताइन् । परराष्ट्रमन्त्री डा देउवाले हिमाली राष्ट्रहरूका लागि जलवायु अनुकूलन वित्तीय सहयोग, प्रारम्भिक चेतावनी प्रणाली र ग्रामीण पूर्वाधारहरूको विकास आवश्यक रहेकोमा पनि जोड दिइन् । जलवायुजन्य जोखिमसँग जुध्न सर्वसुलभ र समावेशी उपायसहित अन्तर्राष्ट्रिय लगानी र क्षमता विकासका काम अपरिहार्य रहेको उनले बताइन् । अहिले नेपालसहितका यी देशहरूले खाद्य असुरक्षा, कुपोषण, जलवायु परिवर्तनजस्ता साझा सङ्कटको सामना गरिरहेका र यसले प्राप्त उपलब्धिलाई पनि खतरामा पारिरहेको उनले बताइन् ।









