
काठमाडौं । कैलालीको गोदावरी नगरपालिका–१० मालाखेती खमौराका इन्द्रबहादुर सिंह मडै, लोकबहादुर मडै र मानबहादुर मडैले संयुक्त साझेदारीमा गेटामा रहेको आँप बगैँचा भाडामा लिएर व्यवसाय गर्दै आएका छन् । इन्द्रबहादुरले आपको बगैँचा भाडामा लिएर काम गर्दै आएको ११ वर्ष भयो । यसअघि उनले मालाखेतीको खमौरामा घण्टेश्वर मन्दिरको जग्गामा रहेको आँप बगैँचा यसैगरी भाडामा लिएर व्यवसाय गर्दै आएका थिए । हावाहुरीका कारण यहाँको बगैँचामा क्षति पुगेपछि आफ्नै गाउँले दाजुभाइ मानबहादुर र लोकबहादुरलाई साथमा लिएर उनले गोदावरी—५ गेटा स्थित एक स्थानीयको आँप बगैँचा भाडामा लिई पुनः व्यवसाय सुरु गर्नुभएको हो । पाँच बिघा जमिनमा फैलिएको आँप बगैँचाको एक ‘सिजन’मा रु पाँच लाख तिर्नुपर्छ । हाल आँपको सिजन चलिरहेको छ । मडै दाजुभाइको बगैँचामा विभिन्न थरीका आँप लटरम्म फलेका छन् । अचेल आँप किन्न बगैँचामै धाउनेहरूको भीड लाग्ने गरेको छ । आँप लिनका लागि कैलालीको धनगढी, अत्तरिया क्याप्पसरोड, लम्की र कञ्चनपुरको गुलरिया, महेन्द्रनगर, दैजीलगायत स्थानबाट ग्राहकहरू आउने गरेका अर्का व्यवसायी मानबहादुर मडैले जानकारी दिएका छन् । यो सिजनमा हालसम्म रु पाँच लाख बराबरको आँप बिक्री गरिसकेको उनले बताएका छन् । सिजनमा कामदारको ज्यालालगायत सबै खर्च कटाएर रु आठ लाखसम्म बचत हुने गरेको इन्द्रबहादुरले जानकारी दिएका छन् । हाल दैनिक रु ३५ हजारदेखि ४५ हजारसम्म कारोबार हुने गरेको उनको भनाइ छ । यहाँ फुटकर रु ८० र होलसेल रु ६० मा आँप बिक्री हुने गरेको छ ।









