
–परमानन्द झा–
हाम्रो परम्पराअनुसार काजकिरिया गर्ने दायित्व जेठा या कान्छो छोरालाई जान्छ । यी दुईजनाको दायित्व बढी भएकाले म जेठो र सक्षम भएको नाताले दाजुभाईलाई यहीँ सम्मिलित गराएर काजकिरिया गरेको हुँ ।
मैले उहाँहरुसमक्ष अन्तिम इच्छा धेरैपटक सोधेको थिएँ । उहाँहरुलाई मैले अन्तिम संस्कार कता भए हुन्थ्यो जस्तो लागेको छ ? भनेर सोधेको थिएँ । त्यो बेलामा मेरो बुबा जमिनदार हुनुहुन्थ्यो । मेरो बाजेले एउटा मन्दिर बनाउनुभएको थियो । त्यहाँ लक्ष्मीनारायणको मूर्ति बनाइएको छ । त्यो मूर्ति चर्किएको खण्डित थियो । त्यो चर्किएको मन्दिरमा पूजा गर्नुहुन्न । पछि मेरो बुबाले नयाँ लक्ष्मीनारायणको मूर्ति स्थापना गर्नुभएको छ त्यही ठाउँमा । खण्डित मूर्तिलाई अर्को मन्दिरमा राखिएको छ ।
बुबा गाउँमा बस्दा उहाँको नित्यकर्म धेरै हुन्थ्यो । बुबा त्यो मन्दिरमा सधैँ पूजा गर्नुहुन्थ्यो । बिहान उठेर नुहाउने, मन्दिरमा गएर पूजा गर्ने, त्यसपछि मात्र अरु कामहरु गर्नुहुन्थ्यो । बेलुका पनि उहाँ त्यो मन्दिरमा दर्शन गर्नुहुन्थ्यो । दिनको दुई पटक त्यो मन्दिरमा जसरी भए पनि जानुहुन्थ्यो । बुबाले आफ्नो अन्तिम संस्कार जता गरे पनि हुन्छ भन्नुभयो । हामीले पशुपतिमा गर्यौँ । सायद उहाँले जाने बेलामा किन छोराहरुलाई दुःख दिनु भनेर सोच्नुभयो होला ।
पत्नीको उदात्त प्रेम
मलाई मेरो परिवारले कहिले पनि चित्त दुखाएका छैनन् । मैले भनेका कुराहरु मेरो कुनै छोराछोरीले पनि नाईनास्ती नगरी गर्छन् । मेरो विचारमा मैले पनि उनीहरुलाई चित्त दुखाएको छैन । राम्रोसँग सम्झाईबुझाई गर्ने गरेको छु । म अहित हुने गरेर कसैलाई पनि केही भन्दिन । उनीहरु पनि विद्रोह गरेर केही गर्दैनन् ।
त्यो बेलाको समय नै अचम्मको थियो । म गाउँ छाडेर काठमाडौ आएको थिएँ । म शिक्षित पनि थिएँ । पहिलो सन्तान छोरी भईन्, तैपनि त्यसमा मैले चिन्ता केही पोखिन । त्यति बेलाको समाजमा छोराको चाहना राख्ने र छोरी भए खिन्न हुने मानिसको संख्या ठूलो थियो । मेरा आमाबुबालाई छोरी भएकोमा हीनताबोध भयो होला । उहाँहरु रुढीवादी परम्पराको मानिस । त्यस्तो सोचाइ आउनु स्वभाविकै हो । क्रमशः









