
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले देशका लागि योगदान गर्ने व्यक्तिहरू देशकै नेता भएको बताएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले बालुवाटारमा आयोजना गरेको बिपी कोइराला राष्ट्रिय पुरस्कार प्रदान कार्यक्रममा प्रधानमन्त्री ओलीले बिपी कोइराला, पुष्पलाल, गणेशमान लगायत कुनै दल विशेषका नेता नभई देशकै नेता भएको बताएका हुन् । प्रधानमन्त्री ओलीले योगदानलाई सम्मान गर्ने कुरामा दलका आधारमा विभेद गर्न नहुने धारणा राखेका छन् । त्यसैगरी सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले निजामती कर्मचारी ऐन संसद्को चालु अधिवेशनबाटै पारित हुने बताएकी छन् । नेपाल निजामती कर्मचारी सङ्गठन तनहुँले आयोजना गरेको सहिद मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति सप्ताहव्यापी कार्यक्रमको उद्घाटन गर्दै मन्त्री न्यौपानेले निजामती कर्मचारी ऐन आएपछि कर्मचारीका धेरै समस्या सम्बोधन हुने उल्लेख गरेकी हुन् । उनले प्रतिनिधिसभाबाट उक्त ऐन राष्ट्रियसभामा आएको र राष्ट्रियसभाले पारित गरेर पुनः प्रतिनिधिसभा पठाएपछि त्यहाँबाट ऐन जारी हुने बताइन् । मन्त्री न्यौपानेले ऐन आएपछि कर्मचारीका धेरै सवाल समाधान हुने विश्वास दिलाइन् । उनले सङ्घीयताको मर्मअनुसार कर्मचारी व्यवस्थापन भएन भन्ने सवाल पनि ऐनले समाधान गर्ने विश्वास समेत व्यक्त गरेकी छन् । कर्मचारी प्रशासनमा केही समस्या रहेको उल्लेख गर्दै उनले त्यस्ता सबै समस्या समाधान गरिने उनको भनाइ रहेको थियो । मन्त्रालयको काम सरुवा बढुवा मात्र हो कि भन्ने सन्देश गएको जिकिर गर्दै मन्त्री न्यौपानेले सङ्घीयता कार्यान्वयन तथा तीन तहको सरकारको समन्वय पनि मुख्य जिम्मेवारी रहेको चर्चा गरिन् । यसैबीच भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले समाजलाई नकरात्मक चिन्तनबाट मुक्त बनाउनु पर्ने बताएका छन् । सकारात्मक विचार र चिन्तनले मात्र समाजलाई समृद्ध बनाउन सक्ने भएकाले सबैले नकारात्मक विचार त्यागेर समृद्ध समाज बनाउने तर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ । सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रले ललितपुरमा आयोजना गरेको अक्षलोक साहित्यिक पत्रिका लोकार्पण तथा सम्मान कार्यक्रममा उनले समाजलाई उज्यालो तर्फ डोर्याउन नकारात्मक विचारहरू बाधक हुने उल्लेख गरेका छन् । सडक तथा पूर्वाधारहरूको विकासले ग्रामीण उपजहरूलाई बजारसम्म लैजान, बजारका उत्पादनहरू गाउँसम्म पुर्याउन, ग्रामीण क्षेत्रमा नै उद्यमशीलताको विकास गर्न सहज भएको भन्दै मन्त्री दाहालले प्राप्त विकास र अवसरहरूलाई आर्थिकोपार्जनसँग जोड्न आवश्यक रहेको पनि बताएका छन् । लेखन, साहित्य, सिर्जना जस्ता विषयहरूले समाजलाई सकारात्मक दिशा दिन सक्ने भएकाले विचार र सिर्जना मार्फत समेत सकारात्मक धारणाहरूको विस्तार गर्न सकिने उनले बताएका छन् ।









