
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले एक विधेयक प्रमाणीकरण गरेका छन् । संवैधानिक परिषद् सम्बन्धी विधेयक फिर्ता गरेका राष्ट्रपति पौडेलले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका हुन् । राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्ति अनुसार संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेस हुन आएको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरिएको हो । यसैबीच उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गुणस्तर प्रमाणीकरणका लागि नेपालमा अन्तर्राष्ट्रियस्तरको प्रयोगशाला स्थापना गर्नुपर्नेमा जोड दिएका छन् । मन्त्रालयमा आयोजित खानी तथा भूगर्भ विभाग र नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक तथा महाशाखा प्रमुखहरूसँगको बैठकमा उनले नेपालमा अन्तर्राष्ट्रियस्तरको गुणस्तर प्रमाणीकरण सम्बन्धी प्रयोगशाला स्थापनाको आवश्यकता औँल्याएका छन् । उनले योजनाहरू चाँडो कार्यान्वयन गरी छरितो र प्रभावकारी परिणाम देखिनुपर्नेमा जोड दिँदै राष्ट्रको समृद्धिमा योगदान पुग्ने खालका कामहरू प्राथमिकतामा राख्न निर्देशन दिएका छन् । छलफलका क्रममा खानी तथा भूगर्भ विभागले चालु आर्थिक वर्षमा रोक्का क्षेत्र खोल्ने, खानी अन्वेषण पुनः सुरु गर्ने, कानुनी अड्चन समाधान गर्ने र अन्तर्राष्ट्रिय सम्मेलनको तयारीस्वरूप विज्ञ तथा सरोकार भएकासँग चाँडो अन्तरक्रिया गर्ने योजना प्रस्तुत गरेको थियो । नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल–भारत व्यापार सहजीकरणका लागि उठाउनुपर्ने विषयहरूबारे जानकारी गराएको छ । त्यसैगरी नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठकको एजेन्डा तय गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी पदाधिकारी बैठकले साउन १६ गते सुरु हुने स्थायी कमिटी बैठकको एजेन्डा तय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिएका छन् । उनले स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान परिस्थितिबारे ब्रिफिङ गर्ने बताएका छन् । त्यस्तै पोखरामा आएर रोकिएको पार्टीको अभियानलाई निरन्तरता दिने विषय, पार्टीको आन्तरिक एकता बलियो बनाउने, समाजवादी मोर्चाका विषय लगायतमा छलफल गर्ने एजेन्डा तय भएको उनले बताएका छन् । संगठन निर्माण, नेताहरूको कार्यविभाजन र अहिलको वर्तमान अवस्थाका साथै समसामयिक प्रस्ताव पारित गरिने सापकोटाले बताएका छन् । स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीको मितिसमेत तय गर्ने उनले बताएका छन् ।









