
काठमाडौं । यही साउन २३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘मोहर’को तेस्रो गीत ‘सपना हो कि विपना हो’ सार्वजनिक गरिएको छ । वियोगान्त भावको गीतमा गजल गायक थानेश्वर गौतम र लोक गायिका शान्तिश्री परियारको स्वर रहेको छ । यसअघि उनीहरुले सहकार्य गरेको फिल्म ‘अञ्जिला’को ‘रात किन हुन्छ’ गीत चर्चित भएको थियो । गीतमा प्रभा बर्तौलाको शब्द रचना तथा गायक गौतम स्वयंको संगीत रहेको छ । छिनको छिनमै बदलिने जिन्दगी सपना हो कि विपना हो भनेर गीतले प्रश्न गरेको छ । प्रेम सम्बन्ध संकटमा हुँदा व्यक्तमा हुने भावना र कठिनपूर्ण जिन्दगीमा बाँचिरहेको पात्रको पीडा गीतले बोलेको छ । गीतका शब्दहरु मर्मस्पर्शी रहेका छन् । देउकी कुप्रथाको कथामा बनेको फिल्ममा पल शाह, बेनिशा हमाल, नीति शाह, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी, मिस पबी, सुशील देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, दत्त पण्डित, गीता थापा, नविन खतिवडा, अर्जुन आचार्य लगायतको मुख्य भूमिका रहेको छ भने बाल–कलाकारमा सारा शर्मा छिन् । फिल्मका लेखक तथा निर्देशक ओम प्रतिक हुन् ।









