
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाली जनताको शान्तिसुरक्षामा खटिएका नेपाल प्रहरीलाई शासक नभई जनताको सेवक भएर काम गर्न निर्देशन दिएका छन् । उनले जनकपुरधाममा मधेश प्रदेश प्रहरी कार्यालयको नवर्निमित भवनको उद्घाटनपश्चात् आयोजित समारोहलाई सम्बोधन गर्दै सो निर्देशन दिएका हुन् । मुलुकमा सुशासन तथा शान्तिसुरक्षा कायम गर्नका लागि नेपाल प्रहरीले हाकिमको भूमिका होइन, जनताको सेवकको भूमिकामा काम गर्नुपर्ने प्रधानमन्त्रीको भनाइ थियो । कसैलाई जोरजबर्जस्तीबाट फसाउने काम नहोस्, न्यायोचित हिसाबले प्रहरीबाट काम हुनुपर्ने उल्लेख गर्दै उनले राणाशासन तथा राजाको पञ्चायती व्यवस्थामा जस्तो कसैलाई फसाउने तथा यातना दिने काम हुन नहुने बताएका छन् । उनले समाजमा अराजकता फैलाउने तत्वहरूको मुलुकमा लोकतन्त्र ल्याउनका लागि कुनै योगदान नरहेकोसमेत विचार व्यक्त गर्दै प्रधानमन्त्री ओलीले झुटो बोल्ने तत्वहरूलाई समाज तथा राष्ट्रले सजाय दिनुपर्नेमा जोड दिएका छन् । यसैबीच नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीको आगामी महाधिवेशन समयमै सम्पन्न गर्न नेतृत्वलाई दबाब दिनुपर्ने बताएका छन् । कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले कांग्रेसको महाधिवेशन समयमै हुन नसके पार्टी कमजोर हुने र पार्टी कमजोर भए लोकतन्त्र नै कमजोर हुने बताएका हुन् । नेता कोइरालाले समयमै आगामी महाधिवेशन आयोजना गर्न पार्टी सभापति शेर बहादुर देउवालाई दबाब दिनुपर्ने बताएका छन् । २०८४ पछि मात्रै पार्टीको महाधिवेशन गर्ने कुरा सुनिन थालेको भन्दै उनले त्यस्तो भए कांग्रेसको भविष्यमाथि नै प्रश्न उठ्न सक्ने जिकिर गरेका छन् । नेता कोइरालाले कांग्रेसभित्रको गुटका कारण अनुशासन समिति पनि गुटमा विभाजन हुन पुगेको बताएका छन् । पार्टीमा देखिएको बेतिथि अन्त्यका साथै एकढिक्का बनाएर अघि बढाउन पनि १५ औँ महाधिवेशन समयमै हुन जरुरी रहेको उनको भनाइ छ । त्यसैगरी सहकारी ठगीमा पुर्पक्षका रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई नख्खु कारागारमा अड्डासार गरिएको छ । बुद्ध एयरको जहाजमार्फत काठमाडौं ल्याएर उनलाई नख्खु कारागार पुर्याइएको हो । रविलाई काठमाडौंमा स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि नख्खु कारागारसम्म उनको समर्थक र रास्वपाका नेताकार्यकर्ताको भिड लागेको थियो । विमानस्थलमा प्रहरीले छक्काएर अर्कै बाटो प्रयोग गरी बाहिर्याएको थियो । तर, नख्खु कारागारबाहिर भने ठुलो संख्यामा उनका समर्थक भेला भएका थिए । त्यो भिडको नेतृत्वमा रवि पत्नी निकिता पौडेल लामिछाने र रास्वपाका सांसद तथा नेता कार्यकर्ता पनि उपस्थित थिए । रविलाई कारागार पुर्याउँदा चर्को स्वरमा नाराबाजी पनि भएको थियो । रवि चैत २५ गतेदेखि रुपन्देही कारागारमा थिए । उनकै मागबमोजिम कारागार व्यवस्थापन विभागले उनलाई अड्डासार गरेर नख्खु कारागार ल्याएको बताइएको छ ।









