
–परमानन्द झा–
म त्यो दिनमा बारातिर कार्यक्रममा जान लागेको थिएँ । म हिँडिसकेपछि उनी पशुपति दर्शनको लागि निस्किएकी रहिछिन् । गौरीघाटको चोक माटोको थियो । पिच भएको थिएन । त्यहाँ उनी लडिन् ।
उनी उठ्न सक्ने अवस्थामा नै थिइनन् । उनलाई त्यहाँबाट नै मेडिकल ल्याइयो । उताबाट फर्केर आएपछि थाहा भो, डा. चक्रराज पाण्डेले अप्रेसन गर्नुभएको रहेछ । उहाँले त्यति राम्रोसँग उपचार गर्न सक्नुभएनछ । राम्रोसँग अप्रेसन नभएकाले खुट्टा सधैँ दुखिरहन्थ्यो । पेनकिलर खाएर बस्नुपर्ने भयो । त्यस्तो दुखाइमा उनले सात वर्ष जति बिताइन् । त्यसपछि मैले उनलाई दिल्लीको म्याक्स हस्पिटलमा लगेँ । हिप रिफेसमेन्ट गरियो । त्यो अप्रेसनबाट पहिलाको भन्दा राम्रो छ । पहिलाको जस्तो दुखाइ हुँदैन । तर लठ्ठीबिना हिँड्न धेरै गाह्रो हुन्छ । मैले उनलाई अप्रेसनपछि नै कैलाश मानसरोवर, मुक्तिनाथ र पाथीभरा भगवतीस्थल घुमाएको हो ।
विवाहपछि नवीनाले हरेक सुखदुःखमा मलाई साथ दिइन् । मेरो कुनै पनि काममा श्रीमतीले मलाई असहयोग गरिनन्, सहयोग नै गरिरहिन् । त्यही नै उनको सबैभन्दा ठूलो गुण हो । घरव्यवहारमा कहिलेकाहीँ ठाकठुक पर्नु स्वाभाविक हो । तर हामीबीच कटुता कहिल्यै भएन । विराटनगरमा काम गर्दादेखि नै मेरी श्रीमती मसँगै बस्थिन् । मैले जीवनमा जे जति सफलता पाएँ त्यसमा श्रीमतीको धेरै ठूलो भूमिका छ । उनले गर्दा नै मेरो जीवनमा यति सफलता प्राप्त भएका जस्तो लाग्छ । मैले लोकसेवा आयोगको परीक्षा दिने बेलामा पनि उनले मलाई धेरै सहयोग गरेकी थिइन् । म दिनभरि काम गरेर रातभरि पढ्थेँ । पढाइको लागि भए पनि म खाटमा नसुतेर भुईमा सुत्ने गर्थे । मैले लोकसेवाको लागि जति मिहिनेत गरेको छु, त्यसमा श्रीमतीको मिहिनेतको दाँजोमा ५० प्रतिशत भन्दा पनि कम छ जस्तो लाग्छ । मेरी श्रीमती त मभन्दा धनी परिवारकी छोरी हुन् । मेरो सीमित आयमा कसरी घर चलाइन् होला भनेर कहिलेकाँही मलाई अचम्म लाग्छ ।
काकाहरुको कहानी
तराईतिरको भाषामा बुबाका दाजुभाइलाई काका भनिन्छ । फरक यति छ कि बुबाको दाइलाई बडा काका, बुबाको भाईलाई छोटका काका या माइला काका भनिन्छ । क्रमशः









