
काठमाडौं । जुम्लामा उत्पादन गरिएको कृषि वस्तु बिक्री गरी गएको वर्ष झण्डै ७० करोडको कृषि वस्तु निर्यात भएको छ । जुम्लाका किसानले उत्पादन गरेको कृषि वस्तु निर्यात भएको हो । कृषि विकास कार्यालय जुम्लाको तथ्यांक अनुसार गत वर्ष जुम्लाले ७० करोड रुपैयाँ मूल्य बराबरको कृषि वस्तु जिल्ला बाहिर निर्यात गरेको छ । २३ हजार टन कृषि उपज बाहिर जिल्ला पठाएको कार्यालय प्रमुख रामभक्त अधिकारीले बताएका छन् । निर्यात भएका कृषि वस्तुमा सबैभन्दा बढी स्याउ छ । गत वर्ष मात्र ६१ करोड ४१ लाख ५ हजार रुपैयाँ मूल्य बराबरको स्याउ जिल्ला बाहिर पठाइएको थियो । त्यस्तै मार्सीचामल, कोदो, ओखर, चिनोको चामल, सिमी, फापर, जौं तथा गहुँ समेत किसानले जिल्ला बाहिर लैजान्छन् । कृषि वस्तु बेच्न खलंगामै दर्जन बढी कोशेली घर खोलिएका छन् । कर्णाली घुमफिरमा निस्कने आन्तरिक तथा बाहृय पर्यटकले यहींबाट बोकेर लैजाने गरेका छन् । गत वर्ष स्याउको उत्पादन २१ हजार टन थियो । ९ हजार ३ सय ३१ टन स्याउ जिल्ला बाहिर निर्यात भयो । कृषि कार्यालयको तथ्यांक अनुसार जुम्ली किसानले दुई हजार ५ सय ९० किलो ओखर, ५५ हजार ८ सय ९ किलो सिमी, दुई हजार ९ सय १३ किलो भटमास, ९० हजार ६ सय ६० किलो आलु जिल्ला बाहिर पठाएका थिए । ११ हजार ५ सय ५५ किलो मार्सी चामल, ९ सय ५० किलो चिनो चामल, ७ सय ९० किलो कागुनो चामल, ६ हजार १ सय ५० किलो फापरको पिठो, १६ हजार चार सय किलो कोदोको पिठो र १० हजार ४ सय ५० किलो जौं को पिठो समेत निर्यात भएको कृषि कार्यालयले तथ्यांकले देखाएको छ ।









