
काठमाडौं । नेपाली र हिन्दी भाषामा बनेको फिल्म ‘अभिमन्यु’को नयाँ गीत ‘लड्की गोरी’ सार्वजनिक गरिएको छ । भोजपुरी शैलीमा तयार पारिएको गीतमा शब्द, संगीत र स्वर प्रशान्त सिवाकोटी र प्रेरणा सिंहको रहेको छ । संगीत संयोजन विषम आचार्यले गरेका छन् । गीत भोजपुरी लवजमा भए पनि भाषा नेपाली नै प्रयोग गरिएको छ । रोहन विश्वकर्माको कोरियोग्राफी रहेको गीतको भिडियोमा जुना सुन्दास र किरण श्रेष्ठको आकर्षक नृत्य देख्न सकिन्छ । फिल्मका मुख्य जोडी लक्ष्मी बर्देवा र कामेश्वर चौरासिया पनि भिडियोमा देखिएका छन् । फिल्ममा तराईको पात्र र कथा रहेकाले त्यही क्षेत्रमा प्रचलनमा रहेको भोजपुरी शैलीको गीत फिल्ममा राखिएको निर्माण पक्षले जनाएको छ । सुशान्त गौतमको निर्देशनमा बनेको फिल्ममा लक्ष्मी, कामेश्वर र किरणसहित सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, प्रकाश दाहाल, सुष्मा निरौला लगायतको अभिनय रहेको छ ।









