
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट विदेश सचिव विक्रम मिस्रीले औपचारिक भ्रमणको निमन्त्रणा दिएका छन् । नेपालको दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौँ आएका सचिव मिस्रीले सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग गरेको शिष्टाचार भेटका क्रममा निमन्त्रणा दिएका हुन् । भेटमा सहभागी प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालले उक्त जानकारी दिएका हुन् । भेटका अवसरमा दुई पक्षीय उच्चस्तरीय भ्रमणको आदानप्रदान र आपसी सम्बन्धका विविध पक्षमा कुराकानी भएको बताइएको छ । भ्रमणको मितिबारे दुवै पक्षले आधिकारिक रूपमा अहिलेसम्म घोषणा गरेका छैनन् । दुवै मुलुकका कूटनीतिक संयन्त्रको आपसी समझदारीबाट उक्त भ्रमणको कार्यतालिका सार्वजनिक गर्ने बताइएको छ । यसैबीच गृहमन्त्री रमेश लेखकले राष्ट्रको हित र आमनागरिकलाई सुविधा हुनेगरी काम गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् । मन्त्रालयमा आर्थिक वर्ष २०८२/८३ का लागि गृहसचिव एवं सङ्गठन प्रमुख, महाशाखा र विभागीय प्रमुखहरूसँग कार्यसम्पादन सम्झौता गर्दै उनले लागुऔषध, सडक दुर्घटना, आत्महत्या र साइबर अपराध नियन्त्रणमा उल्लेख्य काम भए पनि परिणाम आउन समय लाग्ने बताएका छन् । पश्चिम नेपालमा भूकम्प र सोबाट हुनसक्ने विस्तृत क्षति आँकलन गर्ने काम भइरहेको बताउँदै उनले चालु आवभित्र पुनः निर्माण सक्नेगरी काम गर्न निर्देशन दिएका छन् । गृहमन्त्री लेखकले गत आवमा तोकिएको माइलस्टोनमा गृह मन्त्रालयले ८८ प्रतिशत प्रगति गरेकाप्रति बधाई एवं धन्यवाद ज्ञापन गरेका छन् । कार्यसम्पादन सामूहिक काम भएको बताउँदै उनले जस–अपजस सामूहिक रूपले लिनुपर्नेमा जोड दिएका छन् । मन्त्रालयको नेतृत्वमा आउँदै गर्दा नेपाल प्रहरी र सशस्त्र प्रहरीसम्बन्धी विधेयक अघि बढाइएको बताउँदै प्रतिनिधिसभामा केही प्रविधिक जटिलताका कारण रोकिएको गृहमन्त्री लेखकले बताएका छन् । त्यसैगरी सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी माघ महिनाभित्र काठमाडौं उपत्यका र पोखराबाट फाइभजी सेवा शुभारम्भ गर्ने बताएका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा सञ्चारमन्त्री गुरुङले प्रधानमन्त्रीसँग भएको कार्यसम्पादन सम्झौतामा समेत माघ महिनाभित्र फाइभजी सेवा शुभारम्भ गर्ने उल्लेख भएअनुसार पहिलो चरणमा काठमाडौं उपत्यका र पोखराबाट सो सेवा शुभारम्भ गरिने बताएका हुन् । उनले डिजिटल नेपालको कार्यक्रमलाई प्रभावकारी बनाउन देशैभर इन्टरनेटको गुणस्तर वृद्धिका लागि काम भइरहेको जानकारी दिएका छन् । गुरुङले हुलाक टिकटदेखि आवश्यक सबै कुराको छपाइका लागि सुरक्षण मुद्रण केन्द्रलाई तयारी अवस्थामा राखिएको जिकिर गरेका छन् । उनले नेपाल टेलिभिजन र रेडियो नेपाललाई सरकारप्रति जिम्मेवारभन्दा पनि जनताप्रति जिम्मेवार बनाउन सार्वजनिक सेवा प्रसारण (पीएसबी)का रूपमा सञ्चालन गरिएको धारणा राखेका छन् । त्यस्तै उनले मिडिया काउन्सिललाई सरकारले स्वायत्त बनाउनेमा ध्यान दिएको समेत बताएका छन् ।









