
– प्रा.डा. जयराज आचार्य/ विवेक गौतम –
त्यस फार्मका सहायक निर्देशकले बन्दुक पड्काएप्छि बाघ सडकतिर उफ्रदै भाग्यो र ट्रकमाथि चढ्यो जुन ट्रकको भित्रपट्टि लक्ष्मण बाबु बसेका थिए । उनी ड्राइभरको सिटसँगै रहेको अर्को सिटमा बसेका थिए । त्यसपछि उनले बिस्तारै झ्याल खोले र पेन्चिसले बाघलाई घोचे । अनि बाघ त्यहाँबाट भाग्यो । यस घटनापछि लक्ष्मण बाबु एक हप्ताको लागि आराम गर्न हेटौडा गएका थिए ।
पछि लक्ष्मण बाबुले एकजनासँग मिलेर एउटा पेट्रोल पम्प पनि खोलेका थिए । त्यहाँ उनले करिब पाँच वर्षपछि नेपालभूषणलाई भेटेका थिए । अटोमेटिक चल्ने पेट्रोल पम्पभन्दा फरक थियो उनको त्यो पम्प । यमसा हातले भाँडोमा पेट्रोल/ डिजेल / मट्टितेल हालेर ग्राहकको भाँडोमा हालिन्थ्यो । नेपाल भूषण भन्छन् – चितवनमा लक्ष्मण बाबुलाई देख्दा राजा महेन्द्रले पनि आश्चर्य मानेका थिए । २०१९ साल वैशाख १ गते पूर्वपश्चिम राजमार्ग पहिला महेन्द्र राजमार्ग भनिन्थ्यो को शिलान्यास गर्न गैडाकोट आएको बेला राजा महेन्द्रले अकस्मात लक्ष्मण बाुलाई भेटेका थिए । राजाले आफ्ना एडिसिलाई लक्ष्मण बाबु काठमाडौ आएँदा आफूसँग भेट गराउन अह्राएका थिए । त्यस समयसम्ममा लक्ष्मण बाबुकी पत्नी चितवन गएर उनीसँग बस्न थालिसकेकी थिइन् ।
लक्ष्मण बाबुले बनाएको हेटौडा पावर हाउस सम्पन्न भएपछि किशुन बाबुले लक्ष्मणबाबुलाई गोरखा घरमा गएर आमालाई भेट्न भने । उनकी श्रीमती पनि पहिलो पटक उनीसँग गोरखा गइन् । आफ्नी सासु आमालाई भेटिन् । धु्रव बाबु भन्छन्, हो त्यसपछि अजी लक्ष्मण बाबुकी आमाले स्वीकार गर्नुभयो र विस्तारै दुईबीच नजिकको सम्बन्ध विकसित हुँदै गयो । लक्ष्मण बाबुको आर्थिक स्थिति पनि सुदृढ हुँदै गएको थियो । उहाँले काठमाडौमा एउटा घर पनि बनाउनु भयो र अजी स्वास्थ्योपचारका लागि काठमाडौ जानुहुन्थ्यो र उहाँहरुसँगै बस्नुहुन्थ्यो । यसरी परिवारले उनीहरुको अन्तरजातीय विवाह धेरै पछि स्वीकार गरेको थियो । क्रमशः









