
–परमानन्द झा–
त्यो ट्रक र बस नेपालमा चल्ने त कुरै भएन । त्यसमा जुगल बाबु, भुवन बाबु र मेरो बुबा मदन बाबुको गरी तीनजनाको सेयर थियो । हाम्रो त्यो बस दरभङ्गादेखि रहिका भएर बेनीपटिसम्मको रुटमा चल्ने पहिलो बस थियो । झन्डै सय किलोमिटरको एकदमै धुलो हिलो भएको गएगुज्रेको बाटो भएको रुट थियो । बसमा काम गर्ने ड्राइभर, कन्डक्टर चाहिँ धकजरीका आफन्त पर्नेहरु थिए । उनीहरुले आम्दानी कम, खर्च बढी देखाउँथे । मेरो घरको सँगै उहाँको घर छ ।
जुगलबाबु पढेलेखेको भएकाले त्यतिबेलाका गिरिजाबाबुसहित नेपालका काँग्रेसका धेरै नेताहरुसँग उहाँको भेटघाट हुन्थ्यो । जुगलबाबु पनि खाँटी काँग्रेसी भएकाले पार्टीलाई उहाँले आर्थिक सहयोग गरिरहनुहुन्थ्यो । सप्तरी, महोत्तरीका जति पनि काँग्रेसी नेताहरु थिए, ती सबै गएर दरभङ्गाछेउछाउ बस्थे । बस चल्ने भएकाले सबैलाई उहाँको बारेमा थाहा हुन्थ्यो । फेरि तराई भेगमा मेरो बुबा, काकाहरुको नाम सबैलाई थाहा हुन्थ्यो । हाम्रो बस १०/१२ वर्ष चल्यो । पछि घाटा लागेर थप्ने चलाउने गर्नुभएन । उहाँले छोरीहरुलाई इन्जिनियर, प्रोफेसर, डाक्टरसँग विवाह गरेर दिनुभयो । छोरीहरुलाई पढाउनुभयो । उहाँको तेस्रो छोरी एमए पास गरेर दरभङ्गामा शिक्षण पेशा गर्थिन् । सबै छोरीको विवाह भारतमै भएको छ ।
जुगल काका र काकी दुवैको निधन भईसकेको छ ।
लक्ष्मी झा (काका) : उहाँको व्यक्तित्व धेरै आकर्षक थियो । अग्लो, गोरो, राम्रो हुनुहुन्थ्यो । खेतीपाती गर्ने गराउने काममा तल्लीन हुने गर्नुहुन्थ्यो । पञ्चायतकालीन र राणाकालीन राजनीतिमा पनि सक्रिय भएकाले गाउँमा पञ्चायती गर्नुपर्यो भने उहाँको मुख्य भूमिका रहन्थ्यो । उहाँलाई गाउँको न्यायाधीश भन्दा पनि फरक नपर्ला जस्तो मलाई लाग्छ । लक्ष्मी काकाका दुई श्रीमती हुनुहुन्थ्यो । जेठी श्रीमतीबाट एउटा छोरा छ । ठूलो काकाले श्रीमती मरेपछि विवाह गर्नुभएको थियो भने लक्ष्मी काकाले श्रीमती हुँदाहुँदै अर्को विवाह गर्नुभएको हो । उहाँका ६ भाई छोरा, दुई छोरी थिए । छोरीहरुको विवाह भारततिरै भयो । उहाँको जेठो छोरा एग्रिकल्चर इन्जिनियर भए । क्रमशः









