
काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजनीतिक अस्थिरता अन्त्यका लागि वर्तमान सरकार गठन भएको बताएका छन् । निजामती सेवा दिवसका अवसरमा महाकाली प्रादेशिक अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा उनले तीन–तीन महिनामा सरकार परिवर्तन भएपछि राजनीतिक स्थायित्वका निम्ति वर्तमान सरकार गठन भएको स्पष्ट गरेका छन् । उनले निजामती कर्मचारीप्रति शुभकामना व्यक्त गर्दै स्थायी सरकारको भूमिकामा रहेका कर्मचारीले राष्ट्र र जनतालाई केन्द्रमा राखेर सेवा गर्नुपर्नेमा जोड दिएका छन् । यसैबीच नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान कांग्रेस–एमाले नेतृत्वको सरकार राजनीतिक विवेकले नभई दलाल र बिचौलियाको धाकधम्कीबाट बनेको आरोप लगाएका छन् । उनले यो सरकार डरले बनेको र डरले नै टिकेको टिप्पणी गरेका छन् । नेपाल उद्योग व्यापार महासंघले पोखरामा आयोजना गरेको ‘समाजवाद उन्मुख अर्थतन्त्रमा नेपाली उद्योगी–व्यवसायीको भूमिका’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले उक्त कुरा बताएका हुन् । उनले कांग्रेस–एमालेभित्रका इमानदार नेताहरूलाई यस्तो सरकारमा बस्न नहुने समेत बताएका छन् । सरकारमाथि दलाल पुँजीवाद हाबी भएको टिप्पणी गर्दै अध्यक्ष दाहालले भने, ‘क्रोनी क्यापिटलिजम र दलाल पुँजीवादको प्रतिनिधित्व अहिले कांग्रेस र एमालेले गरिरहेका छन् । हामी त्यसको वैकल्पिक शक्ति हौं ।’ उनले सहकारी क्षेत्रमा देखिएको ठगी प्रकरणमा समेत कांग्रेस–एमालेका नेताहरूको संलग्नता रहेको आरोप लगाएका छन् । आफू नेतृत्वको सरकारले शक्तिशाली प्राधिकरण मार्फत ठगहरूलाई कारबाही गर्न खोज्दा सरकार नै ढालिएको उनको भनाइ थियो । अध्यक्ष दाहालले नेपाललाई आत्मनिर्भर र स्वाधीन अर्थतन्त्रको बाटोमा अघि बढाउन माओवादी केन्द्रले स्पष्ट कार्ययोजना अघि सारेको बताएका छन् । माओवादी नेतृत्वका पालिकाहरूले कार्यक्षमता मूल्यांकनमा उत्कृष्ट नतिजा ल्याएको दाबी गर्दै उनले पार्टीको विचार र नीतिगत स्पष्टताकै कारण सफल परिणाम देखिएको बताएका छन् । उनले संविधान निर्माणमा माओवादीको भूमिका निर्णायक भए पनि देशका प्रमुख अंगहरूमा अझै संरचनात्मक परिवर्तन आउन नसकेको स्वीकार गरेका छन् । पछिल्लो समय इमानदार कम्युनिष्टहरूबीच एकता बढ्दै गएको र जनताले माओवादी नै आफ्नो पक्षमा काम गर्ने शक्ति हो भनेर बुझ्न थालेको उनले दाबी गरेका छन् ।









