
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२६ बस्ने पर्सा विन्दावासिनी गाउँपालिका–५ घर भएका ३७ वर्षीय तुफायल मिया जोलाहा, काठमाडौं कीर्तिपुर नगरपालिका–५ बस्ने ५३ वर्षीय सहनसिल महर्जन, ललितपुर बस्ने रौतहट परोहा नगरपालिका–१ घर भएका २० वर्षीय बिक्रम साह र बाँके कोहलपुर नगरपालिका–१२ घर भएका २७ वर्षीया हरिकला खाँण ठकुरी (थापा) रहेका छन् । पक्राउ मध्ये तुफायलले माल्दिभ्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ३० हजार रूपैयाँ, सहनसिलले पोल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख २५ हजार रूपैयाँ, बिक्रमले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख १० हजार रूपैयाँ र हरिकलाले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख २३ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले तुफायललाई काठमाडौं महानगरपालिका–२६ बाट तथा सहनसिललाई काठमाडौं कीर्तिपुर नगरपालिका–५ बाट, बिक्रमलाई काठमाडौं महानगरपालिका–३२ बाट र हरिकलालाई काठमाडौं महानगरपालिका–१२ बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका–३ व्यारेलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ८० मिलिग्राम सहित डडेल्धुरा अम्मरगढी नगरपालिका–७ बस्ने २५ वर्षीय प्रकाश भट्टराई रहेका छ्न् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ५० मिलिग्राम सहित २ जनालाई दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अर्जुनधारा नगरपालिका–६ बस्ने २८ वर्षीय प्रकाश विश्वकर्मा र बुद्धशान्ति गाउँपालिका–४ बस्ने २५ वर्षीय अशोक विश्वकर्मा रहेका छन् । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, कमल गाउँपालिका–५ पाडाजुगी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम १७ मिलिग्राम सहित ३ जनालाई राति प्रहरीले पक्राउ गरेको छ ।









