
–परमानन्द झा–
उनीभन्दा कान्छो छोरा जुट मिलमा काम गर्थे । तेस्रो छोरा जेटीए भए । अर्का छोरा भूमिसुधार अधिकारी भए । कान्छो छोरा रेफ्रिजेरेसनको टेक्निसियन भए । हाल लक्ष्मी काका र उहाँका दुवै श्रीमतीको निधन भइसकेको छ ।
बुचन झा (काका) : काका धेरै सामान्य मान्छे हुनुहुन्थ्यो । उहाँको धनसम्पत्ति भए पनि गाउँमा एउटा गन्जी लगाएर मजासँग घुमफिर गर्नुहुन्थ्यो । शुद्ध र सादगीपूर्ण कृषक । उहाँको विवाह भारतमा भएको थियो । उहाँका चार छोरा, एउटी छोरी भए । जेठा छोराले ग्य्राजुएसन गरे पनि जागिर खानुभएन । माहिलो छोरा डाक्टर भए । त्यतिबेला भन्ने गरिन्थ्यो, जसको छोरीले अनमी पढी त्यो छोरी डाक्टर भई र जसको छोरा सीएमए पढ्यो त्यो डाक्टर भयो । उहाँले त्यही सीएमए गर्नुभयो । उनीपछिको छोरा लेक्चरर भए । उहाँले वीरगन्ज र पछि गएर राजविराजको कलेजमा राजनीतिशास्त्र पढाउनुभयो । उहाँहरुको देहान्त भइसक्यो । सबैभन्दा कान्छो छोरा फिसरी अफिसर (माछा सम्बन्धीको अफिसर) हुनुभयो । जनकपुरमा रहेको प्रोजेक्टमा काम गर्नुहुन्थ्यो । एउटा छोरीको भारततिर विवाह भयो । त्यो बेलामा नेपालमा हाम्रो स्तरसँग मिल्ने परिवार हुँदैनथे । यही कारण पनि छोरीहरुको विवाह भारतमा गर्नुपरेको हो । भारतसँग रोटी र बेटीको सम्बन्ध भनेको यसैलाई भनिएको हो, जुन अहिले पनि कायमै छ ।
भुवन झा (काका) : उहाँ पनि एकदमै साधारण र शुद्ध मान्छे हुनुहुन्थ्यो । उहाँ कतिपटक घर छोडेर बाहिर गइदिनुहुन्थ्यो । कहाँ जानु भयो कसैलाई थाहै दिनुहुन्नथ्यो । पढाइ पनि सामान्य साक्षर । धनसम्पत्तिमा पनि त्यति लगाव गर्नुभएन, जे छ त्यसमै निर्वाह गर्ने किसिमले चल्नुभयो । उहाँका पनि चार छोरा र एउटी छोरी थिए । उहाँको जेठा छोराले बम्बई विश्वविद्यालयबाट अर्थशास्त्रमा पिएचडी गर्नुभयो । पछि यहाँको त्रिभुवन विश्वविद्यालय अन्तर्गत रिडरबाट अवकाश हुनुभयो । अहिले अवकाश पाएर विराटनगरमा बसोबास छ । अर्को छोरा लेक्चरर हुनुहुन्छ । उहाँ अहिले पनि राजविराजको क्याम्पसमा रसायनशास्त्र पढाउनु हुन्थ्यो । हाल सेवानिवृत्त हुनुभयो । सबैभन्दा कान्छो छोरा गाउँमै खेतीपाती गरेर बस्नुहुन्छ । क्रमशः









