
काठमाडौं । नेपाली काँग्रेसका नेता डा शशाङ्क कोइरालाले नेपालमा १७ लाख हेक्टर खेतीयोग्य जमिनबाट ३० करोड जनतालाई पुग्ने अन्न उत्पादन हुन सक्ने बताएका छन् । नेपाली काँग्रेस आपूर्ति तथा उपभोक्ता विभागको आयोजनामा बिर्तामोडमा आयोजित ‘दैनिक उपभोग्य वस्तुको सुनिश्चितता, उपभोक्ताको अधिकार हाम्रो चासो’ विषयक अन्तरसंवाद कार्यक्रम उनले नेपालमा खेतीयोग्य जमिनको आधारमा ३० करोड जनसंख्यालाई पुग्ने खाद्यान्न उत्पादन गर्ने सामर्थ्य नेपालसँग रहेको बताएका छन् । नेता डा कोइरालाले उत्पादन क्षमतामा ह्रास आउँदा व्यापार घाटा बढेको भन्दै कृषि क्षेत्रमा युवाको आकर्षण बढाउन विशेष सरकारी योजना आवश्यक रहेको बताएका छन् । उनले देश विकासको आधार नै कृषि भएको धारणा समेत राखेका छन् । यसैबीच उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले निजी क्षेत्रलाई लगानीमैत्री बनाउन नीतिगत सुधार गरिएको बताएका छन् । नेपाली कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागले झापाको विर्तामोडमा आयोजना गरेको ‘दैनिक उपभोग्य वस्तुको सुनिश्चितता–उपभोक्ता अधिकार हाम्रो चासो’ विषयक अन्तरसम्वादमा बोल्दै उनले निजी क्षेत्रलाई साथमा लिएर मुलुकको विकास गर्नका लागि नीतिगत सुधार गरिएको बताएका हुन् । उर्जामन्त्री खड्काले मुलुकको आर्थिक विकास गर्न र थलिएको अर्थतन्त्रलाई उकास्नका लागि संसदका दुई ठूला दल मिलेर वर्तमान सरकार बनेको बताएका छन् । निजी क्षेत्रहरु डराउनुपर्ने र आत्तिनुपर्ने कुनै अवस्था नरहेको उनको भनाई थियो ।









