
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय माओवादीप्रति जनताको आशा, भरोसा र साथ रहेको बताएका छन् । मध्यपहाडी लोकमार्ग अभियान अन्तर्गत लमजुङको सुन्दरबजार नगरपालिका–९ स्थित भोँटेओडारमा आयोजित सभामा आफू सरकारको नेतृत्वमा रहेका बेला देश र जनताको पक्षमा काम गरेकाले अहिले पनि जनताको आशा, भरोसासहित साथ रहेको धारणा राखेका हुन् । आफ्नो पार्टी अहिले सरकारबाहिर रहे पनि जनता केन्द्रित भएर काम गरिरहेको उल्लेख गरेका छन् । अन्य पार्टीका नेतृत्वले माओवादी अल्पमतमा पुगेको भन्नेमा कुनै सत्यता नभएको बताउँदै अध्यक्ष दाहालले पार्टीले गरेका सकारात्मक कामको मूल्यांकन गर्दै पार्टीप्रति जनताको साथ रहेको बताएका छन् । उनले आगामी निर्वाचनमा माओवादी केन्द्र मुलुकको ठुलो दल बन्ने विश्वास व्यक्त गरेका छन् । यसैबीच नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उप–महासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले नेपालमा पुँजीवादी समाजवादको सट्टा बिचौलिया पुँजीवाद हाबी भएको बताएका छन् । नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठन बागलुङको आयोजनामा ‘नेपाली विशेषताको समाजवाद र वैकल्पिक अर्थतन्त्र’ विषयक विचार गोष्ठीमा उनले समाजवादी अर्थतन्त्र हाम्रो लक्ष्य भए पनि बिचौलिया अर्थतन्त्रमा पुगिएको बताएका छन् । नेता पुनले खुला प्रतिस्पर्धात्मक अर्थ व्यवस्थामा एकाधिकार बढेपछि नियामक निकायको जन्म र अर्थतन्त्रमा दलाल प्रवृत्ति हाबी भएको बताएका छन् । नेता पुनले यो सबै अवस्थालाई ध्यानमा राखेर परिवर्तनकारी राजनीतिक शक्तिले आफूलाई परिमार्जन गर्दै अगाडि बढ्नुको विकल्प नरहेको धारणा राखेका छन् । त्यसैगरी भ्रष्टाचारविरुद्धको आवाज उठाउँदै आएका जेन–जी पुस्ताका युवाहरूलाई काठमाडौं प्रशासनले प्रदर्शन गर्न अनुमति दिएको छ । माइतीघर–नयाँबानेश्वर क्षेत्रलाई प्रदर्शन स्थल तोक्दै जिल्ला प्रशासन कार्यालय, काठमाडौंले उक्त अनुमति दिएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजालले जेन–जी समूहका केही प्रतिनिधिहरू अनुमति माग्न कार्यालय पुगेको र प्रशासनले शान्तिपूर्ण ढंगले विरोध गर्न दिने निर्णय गरेको जानकारी दिएका छन् । ‘नेप्लिज स्टुडेन्ट्स फर जस्टिस’ नामक समूहको नेतृत्वमा हुने यो प्रदर्शनमा विश्वविद्यालय तथा विद्यालयका विद्यार्थीहरू परिचयपत्र सहित र पोसाकमै उपस्थित हुने तयारीमा रहेको बताइएको छ । उनीहरूले भ्रष्टाचार अन्त्य, सुशासनको सुनिश्चितता र रोजगारी सिर्जना जस्ता मुद्दा अघि सार्दै जनदबाब सिर्जना गर्ने लक्ष्य लिएका छन् । आयोजक समूहले कुनै राजनीतिक दल वा संगठनसँग आफूहरू सम्बद्ध नभएको दाबी गर्दै प्रदर्शनलाई पूर्णतः स्वतन्त्र र नागरिक पहलको रूपमा अघि बढाउने बताएका छन् । यसअघि पनि माइतीघर क्षेत्र शान्तिपूर्ण विरोध र नागरिक आन्दोलनको केन्द्रबिन्दु रहँदै आएको छ । प्रशासनले भने प्रदर्शनी शान्तिपूर्ण हुनुपर्ने चेतावनी दिंदै तोकिएको क्षेत्र बाहिर कार्यक्रम नगर्न आग्रह गरेको छ । यसैबीच सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । पत्रकार, मानव अधिकारकर्मी, युवाहरूको संयुक्त सहभागितामा विरोध प्रदर्शन गरिएको हो । सरकारले सामाजिक सञ्जाल बन्द गरेर प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमण गरेको भन्दै उनीहरूले पम्प्लेटसहित विरोध प्रदर्शन गरेका हुन् ।









