
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचना सम्पन्न गरी अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न आग्रह गरेका छन् । एक वक्तव्य जारी गर्दै राष्ट्रपति पौडेलले देशको अत्यन्त असहज, विषम र भयपूर्ण परिस्थितिमा कठिन प्रयत्न पश्चात एउटा शान्तिपूर्ण निकास निस्किएको बताएका छन् । उनले उक्त वक्तव्यभा भनेका छन् – संविधान बचेको छ, संसदीय प्रणाली बचेको छ र संघीय लोकतान्त्रिक गणतन्त्र कायम रहेको छ । ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न जनताले अवसर पाएका छन् । तसर्थ, बडो जुक्तीले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने र आफैंमा सम्हालिदै आगामी २१ फागुनमा हुने चुनाव सम्पन्न गराउने काममा सहयोग गर्न म सबै पक्षलाई हार्दिक अपिल गर्दछु । त्यस्तै प्रतिनिधिसभा विघटन गरी सरकारले २१ फागुनमा तोकेको चुनाव गराउन निर्वाचन आयोगले तयारी थालेको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सरकारले स्रोतसाधन सुनिश्चित गरिदिए आयोग निर्वाचन गराउन तयार रहेको बताएका छन् । सामान्यतया निर्वाचन गर्न १२० दिन चाहिने भन्दै भण्डारीले ६ महिनाको समयभित्र निर्वाचन गराउन आयोग तयार रहेको बताएका छन् । निर्वाचन प्रक्रिया अन्तर्गत व्यवस्थापन र मतदाता नामावली संकलनको काम भई नै रहेको उनले बताएका छन् । भण्डारीले निर्वाचन घोषणाको पत्र प्रधानमन्त्री र राष्ट्रपति कार्यालयबाट आएपछि गृह मन्त्रालयको समन्वयमा बाँकी प्रक्रिया अगाडि बढ्ने बताएका छन् । भण्डारीले फागुनमा एकतिहाइ राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिने र ३५ दिनअगावै अर्थात् माघ दोस्रो साता निर्वाचन गरिसक्नुपर्ने अवस्था रहेको पनि बताएका छन् । प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचन सँगसँगै अगाडि बढाइने उनको भनाइ छ । यसैबीच प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनमा घाइते भएका युवाहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् । काठमाडौंको सिभिल अस्पताल र ट्रमा सेन्टर पुगेर उनले उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन् । उनले घाइतेको उपचारमा कुनै पनि कमी हुन नदिन आग्रह गरेकी छन् । युवाहरूको आन्दोलनका क्रममा देशभर मृत्यु हुनेको संख्या ५५ जना पुगेको छ भने १७ सय भन्दा बढी घाइते भएको बताइएको छ । अहिले पनि २ सय ५० भन्दा बढी घाइतेको विभिन्न अस्पतालमा भर्ना गरेर उपचार भइरहेको छ ।









