
– अर्जुननरसिंह के.सी. –
काँग्रेसले कुनै पनि राजनीतिक व्यवस्थाको संरचनाभित्र यी तत्व छन् कि छैनन् भन्नेतिर ध्यान दिन्छ ।
काँग्रेस, कुनै पनि व्यवस्था जनताका लागि हुनुपर्छ, कुनै व्यवस्थाका लागि जनता हुनुपर्ने उल्टो प्रबृत्ति हुनुहुन्न भन्ने अपरिवर्तनीय मान्यता राख्दछ । त्यसकारण काँग्रेस कसैको राजनीतिक पद्धति अन्धानुकरण गर्ने मान्यतामा छैन । बेलायतको संसदीय प्रणाली र हाम्रो संसदीय प्रणालीमा भिन्नताहरु प्रशस्तै छन् र समानताहरु पनि छन् ।
काँग्रेसको अर्थनीति वा अर्थतन्त्रको ढाँचा के हो ?
समाजवादबाट ओतप्रोत, सबै किसिमका दमन तथा शोषणबाट मुक्त नागरिकहरुको उद्यम, सिप तथा रोजगारीमा आधारित र राज्यको संरक्षणात्मक वातावरण मातहत पूर्ण प्रतिष्पर्धामा सञ्चालित नियमित तथा अकुण्ठित बजारको भूमिका भएको अर्थतन्त्र नै नेपाली काँग्रेसको आर्थिक पक्षको ढाँचा हो । निजी क्षेत्रको सशक्तीकरण काँग्रेस चाहन्छ, तर आवश्यकता पर्दा बजार हस्तक्षेप गर्नसक्ने सामर्थ्य, पूर्णप्रतिष्पर्धात्मक बजारलाई व्यवधान हाल्ने सिन्डिकेटवादी वा कार्टेलवादी सामुहिक एकाधिकारवादी बजार संयन्त्रको विरुद्धमा काँग्रेस रहेको छ । योजनाबद्ध विकास गतिविधि, प्राकृतिक र मानव संशाधनको अधिकतम परिचालन, ग्रामीण अर्थतन्त्रको समानुपातिक विकास तथा त्यस निम्ति राष्ट्रिय बजेटमा प्राथमिकता, उपेक्षित वर्ग वा समुदाय एवं बेरोजगार वर्गको राज्यद्वारा संरक्षण नेपाली काँग्रेसको आधार भूत आर्थिक नीति हो ।
आर्थिक असमानताको अन्त्य, आर्थिक क्रान्ति तथा आत्मनिर्भरमुखी प्रगति, कृषिमा आधारित औद्योगिकरण र गरिबी उन्मूलन नेपाली काँग्रेसको अर्थतन्त्रको उद्देश्य हो । आजको अवस्थामा नेपाल विश्वको तेह्रो गरिब मुलुक भएको हुनाले यस्तो दुरावस्थाको अन्त्यका लागि युद्धस्तरमा कामको थालनी हुनुपर्ने प्राथमिक आवश्यकताको हो । कृषि, जलस्रोत, पर्यटन र जडीबुटीको प्रचुर सम्भावना र समृद्धिका आधार हुन् भन्ने काँग्रेसको ठम्याइ छ । आफैँसँग भएका जन, जल जमिन, जङ्गल, जडिबुटी र सिप जस्ता आधारभूत साधन वा पदार्थबाट नेपालको दिगो विकासको गति अघि बढाइनुपर्छ भन्ने नेपाली काँग्रेसको मान्यता रहेको छ । प्रविधि हस्तान्तरण नहुने, स्थानीय कच्चा पदार्थ र मानव संशाधन उपयोग नहुने लगानीलाई काँग्रेसको नीतिगत मान्यताले प्राथमिकता दिँदैन ।
गरिब, उपेक्षित र सीमान्तीकृत क्षेत्र, वर्ग वा समुदायको न्यूनतम आयको सुनिश्चितता र सामाजिक न्याय तथा सुरक्षाको प्रत्याभूति राज्यले दिनुपर्ने काँग्रेसको अर्थनीतिको आधारभूत र अनिवार्य प्रतिबद्धता हुनुपर्छ ।
प्रजातान्त्रिक समाजवाद :
प्रजातान्त्रिक समाजवादको परिभाषा के हो ?
बीपी कोइरालाले नेपाली काँग्रेसले वरण गरेको प्रजातान्त्रिक समाजवादबारे धेरै व्याख्या गर्नुभएको थियो । उहाँ भन्नुहुन्थ्यो, हामीहरु समाजवादी हौ । त्यसैले हामीहरु त्यस्तो व्यवस्था खडा गर्न चाहन्छौ, जसले गरिबको हित गरोस् । नेपाल भन्ने बित्तिकै त्यो नेपाल गरिबको नेपाल हो । त्यो नेपाल गाउँको नेपाल हो । त्यो झुपडी र छाप्रोको नेपाल हो । नेपाल ठूला घर महल र धनाड्य मानिसहरुको नेपाल होइन । त्यसैले नेपालको उन्नति भनेको ठूलाठूला धनीहरुको नेपला होइन । किसानको उन्नति गर्ने, मध्यम वर्गीय मानिसको उन्नति गर्ने, शिक्षक र कर्मचारीको उन्नति गर्ने तथा जो सुकुम्बासी छन् उनीहरुको उन्नति गर्ने, यो हो विकास वा उन्नति भनेको समाजवादी दृष्टिकोण ।
समाजवाद भनेको केवल आर्थिक कार्यक्रममात्र होइन, सामाजिक रुपान्तरण र न्यायपूर्ण समतामूलक समाजको स्थापना तथा सांस्कृतिक सुधार पनि हो । उत्पादन बृद्धिमात्र समाजवाद होइन, यो त पुँजीवादमा हुन्छ नै । क्रमशः









