
काठमाडौं । भोजपुरमा उत्पादन हुने अर्गानिक आलु किसानको राम्रो आम्दानीको स्रोत बनेको छ । पहिले घरायसी प्रयोगका लागि मात्र हुने आलुले पछिल्लो समय सडक पहुँचका कारण निर्यात हुन थालेको छ । व्यापारीले आलु खरिद गर्न गाडी लिएर किसानको घरसम्म पुग्ने गरेका छन् । गाउँमा सडकको पहुँच विस्तारसँगै अर्गानिक आलु किसानको भरपर्दो आम्दानीको स्रोत बनेको टेम्केमैयुङ–५ मझौलेका स्थानीय कृषक शिवकुमार विष्टले बताएका छन् । ‘पहिले यहाँ उत्पादन हुने अर्गानिक आलु अन्य सहरमा पठाउन समस्या थियो, आलुसँग धान साट्नुपर्ने अवस्था थियो, तर अहिले सडकको पहुँचसँगै घरबाटै आलु बिक्री हुन थालेको छ ।’ यो वर्ष गाउँबाट प्रतिकेजी ४० देखि ४५ रुपैयाँमा बिक्री भएको किसानको भनाइ छ । लेकाली भेगमा उत्पादन भएको अर्गानिक आलुको बजारमा राम्रो माग रहेको स्थानीय कृषक रामबहादुर विष्टले बताएका छन् । ‘मझौले र चोलन्ती गाउँमा अर्गानिक आलु उत्पादन हुन्छ,’ उनले भने, ‘गाउँका सबैले आलुखेती गरिरहेका छन् । उत्पादन भएको आलु घरबाट बिक्री हुन्छ । हाम्रो क्षेत्रको आलु अर्गानिक भएकाले बजारमा राम्रो माग छ ।’ मझौले गाउँका एक किसानले ७०० केजीदेखि सात हजार केजीसम्म आलु उत्पादन गर्छन् । यहाँका ८५ भन्दा बढी घरपरिवारले व्यावसायिक रूपमा आलुखेती गरेको उनको भनाइ छ । यो क्षेत्रमा बढी मात्रामा भोटाङ्गे पङ्खदले, धराने, सैलुङगेलगायत जातका आलु उत्पादन हुने गरेको छ । कृषि ज्ञान केन्द्रका अनुसार भोजपुर जिल्लामा हिउँदे र बर्खे गरी गत वर्ष ५१ हजार ९०० मेट्रिक टन आलु उत्पादन भएको थियो । यहाँ तीन हजार २७२ हेक्टर क्षेत्रमा आलुखेती हुने गरेको बताइएको छ ।









