
काठमाडौं । तिहारको छेको पारेर यही असोज ३१ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘जेरी अन टप’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै दर्शकमाझ ल्याइएको झन्डै चार मिनेट लामो ट्रेलरमा सगरमाथा आरोहण र त्रिकोणात्मक प्रेमकथालाई मुख्य विषयवस्तुको रूपमा प्रस्तुत गरिएको छ । बच्चैदेखि आफूलाई हरेक खेलमा हराएका पितालाई जितेर देखाउन सगरमाथा चढ्ने संकल्प बोकेको जेरी (अनमोल केसी)ले आरोहणको क्रममा भोग्ने कठिनाइ र चुनौतीसँगै आँचल शर्मा र जसिता गुरुङसँगको प्रेममा आउने उतारचढावलाई ट्रेलरमा चित्रण गरिएको छ । भुवन केसी, केदार घिमिरे, सुरक्षा पन्त, उषा खड्गी लगायतका कलाकारलाई पनि ट्रेलरमा स्थान दिइएको छ । सुयोग गुरुङको निर्देशनमा बनेको यो फिल्मलाई सरोज न्यौपानेले निर्माण गरेका हुन् ।









