
–परमानन्द झा–
एकपटक म बेल्जियममा एलएलएम गर्न गएको थिएँ । त्यो बेला कृष्ण जन्मिसकेको थियो । कञ्चन त ठूली भइसकेकी थिई । मैले मेरो परिवारलाई पनि बेल्जियममा लगेको थिएँ । मेरी श्रीमती, कृष्ण र म बेल्जियम गयौ । त्यो बेलामा कञ्चनलाई मामाघरमा राखिएको थियो । बेल्जियम यात्राबारे अघिल्ला पृष्ठमा चर्चा गरिसकेको छु ।
मेरा सन्तानबारे केही कुरा :
कञ्चन झा (छोरी) : अहिले कञ्चन झा जनकपुरमा छिन् । उनको श्रीमान्को नाम विजयकान्त झा हो । उहाँ प्रिमियम इन्स्योरेन्स जनकपुर शाखाको प्रमुखमा काम गरी हाल निवृत्त भइसक्नुभएको छ । उहाँको घर पनि धनुषा जिल्ला, देवडिया गाउँमा छ । जनकपुरबाट ५ किलोमिटर दक्षिणमा पर्छ ।
छोरीले एमएड गरेकी छिन् । सुर्खेतमा हुँदा उनले बीएड गरेकी हुन् । जागिर खाने बेलामा उनको एमएडको सर्टिफिकेट काम लागेन । नेपालीमा एमएको सर्टिफिकेट नै चाहिने रहेछ । संस्कृत विश्वविद्यालयअन्तर्गत जनक कजारी कलेज जनकपुरमा छ । त्यो कलेजमा उनी आंशिकमा भर्ना भइन् । त्यहाँ नेपाली विषय लिएर एमएको परीक्षा दिइन्, यसमा उनले राम्रो गरिन् । त्यसपछि उनको जागिर स्थायी भयो । उनी अहिले लेक्चरर छिन् र जनकपुरमा नेपाली विषय पढाउँछिन् ।
सासुससुरा गाउँमा नै हुनुहुन्छ । पैतृक सम्पत्ति धेरै छ । दुवै छोराहरु पनि बाहिर छन् । कञ्चनको ससुरालाई पनि गाउँमा बस्न बानी भइसक्यो । सासुससुरा गाउँबाट आएर यता बसेमा सम्पत्ति हेर्ने मानिसहरु छैनन् । यही कारण उहाँहरुलाई गाउँमै बस्नुपर्ने बाध्यता छ । कहिलेकाहीँ बेला मौकामा उहाँहरु आउनुहुन्छ, भेटघाट हुन्छ ।
कृष्णचन्द्र झा (छोरा) : आइएस्सी गरेपछि कृष्णचन्द्र बीएचएम पढ्न भारत, मैङलुर गए । उनले त्यहाँबाट चार वर्षे होटेल म्यानेजमेन्ट कोर्स पूरा गरे । पढाइ सकेपछि उनले त्रिभुवन राजपथभन्दा माथि पालुङ भन्ज्याङ (माथिको टाकुरा) मा रहेको एउटा रिसोर्टमा दुई वर्ष जति काम गरे ।
म पुनरावेदन अदालतको मुख्य न्यायाधीश थिएँ । हाम्रो पूरै परिवार हेटौडामा बस्थ्यो । रिसोर्टमा दुई वर्ष काम गरेपछि छोराले याक एण्ड यति होटलमा काम गर्न थाले । क्रमशः









