
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निजी क्षेत्रको आत्मविश्वास जगेर्ना गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताएकी छन् । नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय आर्थिक बहस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका क्रममा भएको आक्रमणपछि मर्माहत भएको निजी क्षेत्रलाई तत्काल राहत, सहयोग पुर्याउँदै आत्मविश्वासको जगेर्ना गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताएकी हुन् । जनेजी आन्दोलनले नेपाल पछौटे मुलुकको यथास्थितिमा बस्न नसक्ने म्याण्डेट दिएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले अग्रगामी दिशामा देशलाई लिएर जानु बाहेक विकल्प नरहेको प्रष्ट पारिन् । उनले राजकीय सम्पत्तिमाथि राजनीतिक आवरणमा भएका लुट र निजी क्षेत्रमाथि लादिएका शङ्का र दोहनकारी सङ्कष्टपूर्ण प्रणालीप्रति सजग रहेको बताइन् । कानुनको शासन स्थापित गर्न सरकारले कुनै कसर बाँकी नराख्ने र सुरक्षाको प्रत्याभूति दिन सम्पूर्ण शक्तिका साथ सरकार लागेको उनले बताइन् । प्रधानमन्त्री कार्कीले फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनको तयारीमा जुटेको भन्दै निर्वाचन सफल बनाउन र स्वच्छ बनाउन निजी क्षेत्रको पनि महत्वपूर्ण भूमिका रहेको धारणा राखिन् । यसैबीच निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो समयमा नागरिकको उत्साहजनक रूपमा मतदाता नामावली संकलन अगाडि बढिरहेको बताइएको छ । यही कात्तिक ३० गतेसम्म मतदाता नामावली संकलन हुने कार्यक्रम रहेको छ । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ । सो निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता भएकामध्ये फागुन २० गतेसम्म अठार वर्ष उमेर पूरा हुने मतदाताले मात्र मतदान गर्न पाउने छन् । आयोगका अनुसार सो मितिसम्म अठार वर्ष उमेर पूरा हुने र नागरिकताको प्रमाणपत्र प्राप्त गरेका सबै नेपाली नागरिकले यही कार्तिक ३० गते भित्र मतदाता नामावलीमा नाम दर्ता गराउन पुनः अनुरोध गरिएको छ । मतदाता नामावली दर्तामा अधिक सहभागिताका कारण मतदाता नामावली दर्ता सर्भरमा अत्यधिक चाप पर्न गई सेवाग्राहीलाई सेवा लिन असहज भएको गुनासो आउने गरेको आयोगले जनाएको छ ।
त्यसैगरी स्वास्थ्य प्रवर्धन केन्द्र, वडा कार्यालय र अन्य सेवा केन्द्रहरुमा तीब्र गतिको ब्रोडव्याण्ड इन्टरनेट फाइबर टु द होम – एफटीटीएच जडान गर्न काठमाडौँ महानगरपालिकाले नेपाल टेलिकमसँग सम्झौता गरेको छ । महानगरपालिकाको केन्द्रीय कार्यालय, काठमाडौँ प्लाजामा भएको सम्झौतामा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, वागमती प्रदेशका निर्देशक इन्दल यादवले हस्ताक्षर गरेका हुन् । यसअघि वडामा २० एमबीपीएस क्षमताको लिज लाइन लिइएको थियो । यसको लागत धेरै थियो । अहिलेको लागत कम र क्षमता धेरै भएको विभागका प्रमुख अनिरुद्र नेपालले जानकारी दिएका छन् । सो इन्टरनेट ३२ वटा वडा कार्यालय, २४ वटा स्वास्थ्य प्रवर्धन केन्द्र, बागदरबार, टेकु ट्रान्सफर स्टेशन, महानगर प्रहरी वल, पूर्व क्षेत्र, बानेश्वर, बग्गीखाना, बसपार्क, सोह्रखुट्टे र कार्यान्वयन एकाइ, बारुण यन्त्र कार्यालय नयाँ सडक, बालाजु र रामहिटी बौद्ध, हनुमानढोका दरबार संरक्षण कार्यक्रम, रानीपोखरी, बसन्तपुर, बालाजु पार्क, शंखपार्क गरी ७१ सेवा केन्द्रका लागि खरिद गरिएको हो ।









