
–परमानन्द झा–
केही वर्ष काम गरे पछि उनी हस्पिटालिटी म्यानेजमेन्ट पढ्न अस्ट्रेलिया गए । अस्ट्रेलियाको भिक्टोरिया युनिभर्सिटीबाट मार्स्टस डिग्री पूरा गरे अनि मेलबर्नस्थित उक सेभेनस्टार होटलमा असिस्टेन्ट म्यानेजरका रुपमा पाँच वर्ष काम गरे । उनलाई मैले नेपाल आउन आग्रह गरे । उनी त्यहाँको राम्रो जागिर छाडेर नेपाल आए । उनले त्यहाँ पीआर पाइसकेका थिए । हामीले त्यसको वास्ता गरेनौ । नेपाल आएपछि उनले सामाखुसीमा गेटवे कलेजको स्थापना गरे । कलेजमा छोराका अन्य दुईजना पार्टनर पनि छन् । एकजना उतै अस्ट्रेलियामा पढेको साथी, अर्कोचाहिँ कान्तिपुर इन्टरनेसनल कलेजका प्रोपाइटर ।
अहिले उनीहरुले पाटनको कुमारीपाटीमा आयाम इन्टरनेसनल कलेज पनि स्थापना गरेका छन् । त्यसमा बीबीए र होटेल म्यानेजमेन्टको पढाइ हुन्छ । होटेल म्यानेजमेन्टको मास्टर्ससम्मको पढाइको लागि पूर्वाञ्चल विश्वविद्यालयसँग स्वीकृतिको प्रक्रिया सुरु भइसकेको छ । पाटनको कुमारी पाटीमा आयाम इन्टरनेशनल कलेज पनि दश वर्ष पहिले स्थापना गरेका छन् ।
कृष्णचन्द्रको विवाह पनि भइसकेको छ । उनको विवाह आफ्नै जातकी केटीसँग भएको हो । मलाई अन्तरजातीय विवाह मन पर्दैनथ्यो । कतै उनले अन्तरजातीय विवाह गर्ने हुन् कि भन्ने मनमा शंका लागिरहन्थ्यो । तर मेरा जेठा र कान्छा दुवै छोराहरुले त्यसो गरेनन् । बाबुको यो एउटा सोचको उनीहरुले कदर नै गरे ।
कृष्णको ससुराली बिहार दरभङ्गा हो । उनको ससुरालीको गाउँ सौराठ हो । सौराठ बस्ती भनेको ब्राह्मणको महासभा लाग्ने ठाउँ हो । ससुराली गाउँमा भए पनि उनीहरुको बसोबास दरभङ्गामा छ । मेरी बुहारीको बुबा त्यहाँ ल प्राक्टिस गर्नुहुन्छ । उहाँ ल कलेजको एक्टिङ प्रिन्सिपल पनि हुनुहुन्छ । बुहारीको हजुरबुबाको नाम गंगाधर मिश्र हो । उहाँ पनि वकिल हुनुहुन्थ्यो । उहाँ दरभङ्गाको चन्द्रधारी मिथिला कलेजका संस्थापक सचिव हुनुहुन्थ्यो । चन्दा उठाएर उहाँले नै त्यो कलेजको स्थापना गर्नुभउको रहेछ । चन्द्रधारी कलेजमा सम्मानस्वरुप गंगाधरको नामबाट गंगाधर सदन बनाइएको छ । उहाँको निधन भइसकेको छ । क्रमशः









