
काठमाडौं । स्थानीय स्रोत र रैथाने सीपमा आधारित हस्तकलाका सामग्रीमा आकर्षण घट्दै गएको छ । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरधाममा आयोजित बालाचतुर्दशी मेलामा विगतमा चोयाबाट निर्मित यस्ता सामग्रीको माग उच्च हुने गरे पनि यसपटक त्यस्तो नपाइएको व्यवसायीले गुनासो गरेका छन् । बालाचतुर्दशी पर्वका अवसरमा गलेश्वरमा शत्बीज छर्न आएकाले घरायसी काममा प्रयोग हुने चोयाबाट निर्मित डाला, नाङ्ला र काठका ठेका–मदानी खरिद गरेर लैजाने प्रचलन रहेको छ । मेलामा तीन दशकदेखि डाला र नाङ्ला व्यापार गर्दै आउनुभएका बागलुङको बढीगाड गाउँपालिका–४ जलजलाका मनबहादुर छन्त्यालले पछिल्लो समय प्लास्टिकका सामानले चोयाका सामग्रीलाई विस्थापित गर्न थालेको बताएका छन् । हरेक पटकको मेलामा डालाडाली र नाङ्ला बिक्रीको लागि आउने गरेको र पछिल्लो समय यस्ता सामानका माग घट्दो क्रममा रहेको उनको भनाइ छ । गलेश्वरधाममा बागलुङका साथै तनहुँबाट समेत चोयाबाट बुनेका नाङ्ला ल्याएर आउने धेरै व्यापारी छन् । मेलामा डाला रु ८०० देखि दुई हजारसम्म र नाङ्ला रु ६५० देखि ९०० सम्ममा किनबेच हुने गरेको छ । जङ्गलमा पाइने निगालोको चोयाबाट बुनेर तयार गरिने नाङ्लो अन्नपात केलाउन र डालो अन्नपात राख्न प्रयोग गरिन्छ । चोयाका डाला र नाङ्ला वातावरणमैत्री हुनाका साथै टिकाउ र आकर्षकसमेत हुन्छन् । प्लास्टिकका सामग्रीको मूल्यमा चोयाका सामग्री खोज्ने प्रचलनका कारण आफूहरु समस्यामा परेको गलेश्वरको बालाचतुर्दशी मेलामा नाङ्ला बेच्न आउनुभएका तनहुँको बन्दीपुरका तिलबहादुर भुजेलले बताएका छन् । गलेश्वर मेलामा करिब १०० जनाले घरायसी र दैनिक उपभोग्य सामानदेखि लत्ताकपडाको व्यापार–व्यवसाय सञ्चालन गरेकामा न्यून मात्रामा डाला र नाङ्लाको खरिदबिक्री भएको गुनासो गरेका छन् । मेलामा रैथाने सीप प्रयोग गरी बनाइएका काठका ठेकाठेकी र मदानीको समेत खरिदबिक्रीसमेत उत्साहजनक छैन । गाउँघरमा दूध सङ्कलन र मोही पार्नका लागि काठका ठेका र मदानीको विकल्पमा सिल्टे र प्लास्टिकका सामान भित्रिएपछि ठेका बनाउने पेसा नै सङ्कटमा पर्न थालेको छ ।
यसैबीचत देशभर घरजग्गाको कारोबार क्रमशः घट्दै गएको पाइएको छ । कारोबार घट्दै जाँदा राजस्व संकलनमा समेत ह्रास आएको छ । कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चालु आर्थिक वर्षको चार महिनामा राजस्व संकलनको मात्रा क्रमशः ओरालो लागेको छ । सरकारले घरजग्गा कारोबारमा सहजीकरण गरेको भए पनि राजस्व संकलन अपेक्षित रूपमा बढ्न सकेको छैन । केही दिन पहिले मात्र सरकारले भूउपयोग (तेस्रो संशोधन) नियमावली संशोधन गरेको छ । गत कात्तिक महिनामा देशभरका मालपोत कार्यालयले रु दुई अर्ब ७४ करोड ५१ लाख ७२ हजार एक सय ९९ बराबरको राजस्व संकलन गरेको थियो । गत असोजमा रु दुई अर्ब ७५ करोड ८५ लाख ५७ हजार ९२७ बराबरको राजस्व संकलन भएको थियो । यस्तै, भदौमा रु तीन अर्ब १४ करोड सात लाख १६ हजार ३३५ बराबरको राजस्व संकलन भएको थियो । गत साउनमा रु तीन अर्ब २८ करोड ९१ लाख ३ हजार २४२ बराबरको राजस्व संकलन भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । विभागका अनुसार गत कात्तिकमा सेवा करमार्फत रु २१ करोड ३४ लाख ४७ हजार ४१३, रजिस्ट्रेसन दस्तुर रु एक अर्ब ५० करोड ६२ लाख ९६ हजार १४ र पुँजीगत लाभकरमार्फत रु ९९ करोड ७८ लाख ४ हजार ३९२ संकलन गरेको थियो ।









