
काठमाडौ । अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजावादी आन्दोलनमा ज्यान गुमाएका शहीद पत्रकार सुरेश रजकका परिवारसँग भेटवार्ता गरेका छन् । रजकको परिवारलाई भेट्दै मन्त्री खरेलले प्रधानमन्त्री सुशीला कार्की लगायत सरोकारवालाहरूको चाहनाअनुसार रजकलाई शहीद घोषणा गरिएको बताएका छन् । उहाँले शहीद घोषणा भएसँगै रजक अमर बनेको र सधैँ सम्झिरहने उल्लेख गरेका छन् । पत्रकारको कार्यस्थलमै मृत्यु हुनुपरेको घटनाप्रति दुःख व्यक्त गर्दै मन्त्री खरेलले आगामी दिनमा यस्ता घटना हुन नदिन राज्य सतर्क रहने प्रतिबद्धता जनाएका छन् । यसैबीच नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र वरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु आफू नै भएको बताएका छन् । प्रजातन्त्र सेनानी संघका केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरूसँग भेटघाटका क्रममा कोइरालाले यस्तो बताएका हुन् । कोइरालाले आफू लामो समयदेखि पार्टीभित्र र बाहिरका फोरमहरूमा युवा पुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्छ भन्ने कुरा गर्दै आए पनि त्यसको सुनुवाइ नभएको पनि बताएका छन् । सोही कारण जेनजी आन्दोलनको अवस्था आएको उनको भनाई थियो । अहिले देश र पार्टी अत्यन्तै कठिन मोडमा उभिएको बताउँदै कोइरालाले कांग्रेस पार्टी पुनर्निर्माणका लागि अझै सेनानीहरूको अनुभवको सहयोगको खाँचो रहेको बताएका छन् । त्यसैगरी नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रबी सिंहले वर्तमान सरकार निर्माण व्यवसायीका समस्या समाधान गर्न गम्भीर नरहेको बताएका छन् । कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघको छिटौं साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष सिंहले नेपालमा सुशासन र विकासका लागि भएको जेनजी आन्दोलनको जगमा गठन भएको सरकारले पुरानै सरकारको लयमा गएको आरोप लगाएका छन् । उनले सरकार जेनजीको म्यान्डेट अनुसार चल्न नसकेको बताएका छन् । नेपालको समग्र निर्माण उद्योगकै छबि उच्च बनाउन आफूहरू लोनको भारी बोकेर घरबार गुमाएर विकास आयोजना निर्माणको कामहरू गरिरहेको बताउँदै सरकारले निर्माणसँग सम्बन्धित समस्या समाधानका लागि ठोस पहल गर्नुपर्ने बताएका छन् ।









