
काठमाडौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र सभापति शेरबहादुर देउवाबिच भेटघाट भएको छ । क्रियाशिल बितरण समितिले नम्बर बिनाका फारम जिल्ला–जिल्ला पठाएको घट्ना र केन्द्रीय अनुशासन समितिले गरेको कारबाही सिफारिस फुकुवा लगायत बिषयमा कुरा गर्न नेता कोइराला केन्द्रीय सदस्य डा .मिनेन्द्र रिजाललाई लिएर सभापति भेट्न गएका हुन् । भेटमा कोइरालाले क्रियाशिल बितरण समितिले नम्बर बिनाका फारम जिल्ला–जिल्ला पठाएको र यसले पार्टीभित्र देशभरीमा जटिल समस्या उत्पन्न सिर्जना गरेको देउवासामु बताएका छन् । कोइरालाले बिना नम्बरका ति फारम तत्काल फिर्ता गरि नयाँ फारम पठाउँन निर्देशन दिन देउवालाई आग्रह गरेका छन् । कोइरालाले ती बिना नम्बरका फारमका आधारमा महाधिवेशन प्रक्रिया शुरु हुनै नसक्ने तर्क राखेका छन् । अनुशासन कारबाहीका सम्बन्धमा देउवाको ध्यानाकर्षण गराउँदै कोइरालाले सबैको कारबाही फुकुवा गरि पार्टी महाधिवेशन र आम निर्वाचनमा खटिन निर्देशन दिनुपर्ने धारणा राखेका छन् । २०७९ को निर्वाचनको गठबन्धनका समयमा भएका कुरालाई लिएर अहिले कारबाही गर्न नहुने कोइरालाको भनाइ थियोे । यसैबीच ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक्त समाजको अपेक्षा गरेको बताएका छन् । कैलालीको जानकी गाउँपालिकाले आयोजना गरेको विकास निर्माणसम्बन्धी सरोकारवालासँग भेटघाट तथा छलफल कार्यक्रममा मन्त्री घिसिङले जनताले तत्काल कामको नतिजा खोजेको उल्लेख गरेका छन् । मन्त्री घिसिङले जनताका मूलभूत विषयमा वर्तमान सरकार गम्भीर भएर लागेको उल्लेख गर्दै विकास निर्माणका काममा पनि योजनाबद्ध रुपमा काम भइरहेको बताएका छन् । हरेक क्षेत्रका योजना कार्यान्वयनमा जटिलता रहेकाले त्यसलाई सहज बनाउँदै जनताले अनुभूति हुने गरी काम हुनुपर्नेमा उनले जोड दिएका छन् । सरकारले घोषणा गरेकै मितिमा निर्वाचन हुने मन्त्री घिसिङले बताएका छन् । हिजोको जस्तो परिस्थिति अबका दिनमा जनताले नचाहेको बताउँदै मन्त्री घिसिङले निर्वाचनमा सक्षम उम्मेदवारलाई चुन्न आग्रह गरेका छन् । त्यसैगरी राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठ र सदस्य प्राडा. सुनिति श्रेष्ठ (हाडा)ले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । एक कार्यक्रमका बीच उपाध्यक्ष श्रेष्ठले आयोगका अध्यक्ष एवं प्रधानमन्त्री सुशीला कार्कीसमक्ष शपथ ग्रहण गरेका हुन् । त्यसलगत्तै सदस्य हाडाले प्रधानमन्त्री कार्कीको उपस्थितिमा उपाध्यक्ष श्रेष्ठसमक्ष शपथ ग्रहण गरेकी छन् । कार्यक्रममा योजना आयोगका सदस्य एवं मुख्य सचिव सुमनराज अर्याल, प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठ, आयोगका सचिव रविलाल पन्थलगायत सरकारी उच्च अधिकारीहरूको उपस्थिति थियो । शपथपछि प्रधानमन्त्री कार्कीले नवनियुक्त उपाध्यक्ष र सदस्यलाई बधाइ ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेकी छन् । उनले अहिलेको मुलुकको अवस्थाको राम्रोसँग अध्ययन गरी र जेनजी युवाको आकांक्षाबमोजिमका योजनाको तयारी गर्न निर्देशन दिइन् ।









