
काठमाडौं । धेरैले अवकाशपछिको जीवन अनुत्पादक क्षेत्र वा आराम गर्ने नाममा त्यत्तिकै बिताउँछन् । बर्दिया बढैयाताल गाउँपालिका–६ मैनापोखरका ४२ वर्षीय घनश्याम खत्रीले भने अवकाशपछि झन् जाँगर चलाइरहेका छन् । उनले नेपाली सेनाको जागिरबाट अवकाश भएपछि पेन्सनबाट आएको केही रकममै चित्त बुझाएका छैनन्, बरु समयलाई उत्पादक काममा लगाएका छन् । त्यसबापत उनले राम्रो आम्दानीसमेत गरिरहेका छन् । खत्री विगत चार वर्षदेखि मौरीपालनमा रमाइरहेका छन् । २५ घारबाट सुरु गरिएको उनको व्यावसायिक यात्राले हाल उनलाई अवकाश प्राप्त सेना होइन, एउटा सफल व्यवसायीको पहिचान दिएको छ । पहिचान मात्रै होइन, त्यससँग वार्षिक करिब रु २० लाख आम्दानीसँगै आत्मनिर्भरसमेत बनाएको छ । बागेश्वरी मौरी फार्म दर्ता गरेर व्यावसायिक रूपमा अघि बढेका खत्रीसँग हाल एक सय ११ घार मौरी छन् र व्यवसायमा श्रीमती मेनका डाँगी खत्रीको बलियो साथ छ । यो दम्पतीलाई यतिबेला कार्तिके मह काड्ने र बिक्री गर्ने चटारो छ । यसबाट वार्षिक करिब ५० क्विन्टल मह उत्पादन हुने गरेको खत्रीले बताएका छन् । उनले मौसमअनुसार मौरीका घारहरू असारदेखि मङ्सिरसम्म दाङका विभिन्न क्षेत्रमा, मङ्सिरपछि बर्दिया (बढैयाताल र राजापुर क्षेत्र) र अत्यधिक चिसोमा हुस्सुबाट जोगाउन फेरि दाङमा लैजाने गरेका छन् । जंगली महका लागि सिसौको रसका लागि बढैयातालको भदै क्षेत्र र जामुनका लागि बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा मौरीलाई चरन गर्ने गरेको खत्रीले जानकारी दिएका छन् । यस व्यवसायले खत्री परिवारलाई मात्र आर्थिक लाभ दिएको छैन, स्थानीयलाई रोजगारीसमेत सिर्जना गरिरहेको छ । मह काड्ने बेला ११ जना र ढुवानीका बेला चार जनाले काम पाउने गरेका छन् । उनले यस व्यवसायलाई थप व्यवस्थित गर्दै आम्दानीसँगै रोजगारीसमेत बढाउने योजना रहेको उनले बताएका छन् । यसैबीच अर्थमन्त्री रामेश्वरप्रसाद खनालले पछिल्लो तीन महिनामा मुलुकको अर्थतन्त्र चलायमान बन्दै गएको बताएका छन् । अर्थतन्त्रको दिगो विकासका लागि निजी क्षेत्रसँग संवाद गर्ने उद्देश्यसहित गोरखापत्र संस्थानको आयोजना र गोरखापत्र एकेडेमीको संयोजनमा आयोजित ‘गोरखापत्र डिस्कोर्स’ को उद्घाटन समारोहमा मन्त्री खनालले बितेको तीन महिनाको तथ्याङ्कले नेपालको अर्थतन्त्र चलायमान भएको पुष्टि गर्ने धारणा राखेका हुन् । युवापुस्ता जेनजीको आन्दोलनको तीन महिनामा नेपालको अर्थतन्त्रमा पुनरुत्थान हुँदै गएको भन्दै उनले यसअवधिमा करिब १० प्रतिशतले राजस्व वृद्धि भएको जानकारी दिएका छन् । मन्त्री खनालले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्दै यस क्षेत्रमा रहेको तरलता व्यवस्थापन र लगानीको वातावरण तयारका लागि सरकारले योजनाबद्ध काम गरिरहेको बताएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा डा विश्वनाथ पौडेलले गोरखापत्रले गरिरहेको कामले ज्ञानको दायरा बढाउने बताउँदै पुराना पत्रिका अध्ययन अनुसन्धानका लागि अर्थविद्हरू प्रभावकारी हुने धारणा राखे । उनले दीर्घकालीन विकासका लागि दिगो पूर्वाधार विकासलाई जोड दिनुपर्ने बताउँदै उनले सरकारले ठूलो खर्च गर्नसक्ने वातावरण तयार गर्न नेपाल राष्ट्र बैंक तत्पर रहेकामा जोड दिएका छन् । गभर्नर डा पौडेलले निजी व्यवसायीलाई उच्चमनोबलका साथ काम गर्न प्रोत्साहित गर्दै निष्पक्ष रूपमा हुने आगामी निर्वाचनले स्थायित्व कायम गर्ने विश्वास व्यक्त गरेका छन् ।









