
– प्रा.डा. जयराज आचार्य/ विवेक गौतम –
पहिले पहिले साधारण मानिसहरु कैयौ किलोमिटर पैदलै हिँडेर पुग्ने गर्थे भने उच्चपदस्थ एवं धनी व्यक्तिहरु घोडा चढेर वा हेलिकोप्टरमा समेत मनकामना मन्दिर जाने गर्दथे । स्थानीय होटल व्यवसायी दिनेश जोशीले स्थानीय बासिन्दाले राजा वीरेन्द्रलाई स्वागत गर्न राम्रोसँग सुन्तला र पातले सजाएर झकिझकाउ बनाएको स्वागतद्वार अझै सम्झन्छन् ।
यो रमणीय स्थानमा देवीप्रतिको आस्था र विश्वास जनतामाझ उच्च रहँदै आएको छ । धार्मिक आस्थाकै कारण स्थानीय जनता आफ्नो बाली तथा खेतबारीका फलफूल, तरकारी र पशुपंक्षीहरु देवीलाई चढाउँथे । यो चलन अझै पनि उत्तिकै भएको पाइन्छ । होटल व्यवसायी दिनेश जोशी भन्छन् । यसै सन्दर्भमा स्थानीय समुदायका अगुवा रामकुमार जोशीले कसरी स्थानीय जनताले मनकामना भ्रमण गर्ने तीर्थयात्रीहरुसँग सम्बन्ध राख्छन् भन्ने कुरा बताउँछन् । बाहिरबाट आउने श्रद्धालु भक्तजनहरुमा मनकामना मन्दिरप्रति अगाध आस्था रहेको देखिन्छ । स्थानीय जनताले पहिलेदेखिनै बाहिरबाट आउने यस्ता भक्तजनहरुप्रति दर्शाएको सत्कार एवं सम्मान उदाहरणीय छ भनेर जोशी भन्छन् ।
राजा राम शाहको पालादेखि नै स्थानीय बासिन्दा र देवी मनकामना रहस्यात्मक तरिकाले एक आपसमा जोडिएका थिए भन्ने एक किंवदन्ती छ । यो किंवदन्ती अनुसार राम शाहकी रानी चम्पावतीसँग एउटा दैवी शक्ति थियो । यस बारेमा अहिलेका मनकामना मन्दिरका मुख्य पुजारी इन्सान थापा मगरका पुर्खा लखन थापालाई मात्र थाहा थियो । यस दैवी शक्तिको बारेमा जब राजाले थाहा पाए, चाँडै नै उनको निधन भयो । राजाको निधनले भावविव्हल भएकी रानी उनको पतिको चितामा हाम्फालेर सती जाने भईन । लखन थापा रानीको सती जाने कुराले निकै दुःखी भए । चितामा जानुअघि रानीले दुःखी नहुन भन्दै लखन थापालाई आफू फेरि चाँडै नै आउने र आफ्नो विरासतलाई संरक्षण गर्ने र पूजा गर्ने अभिभारा लखन थापा एवं उनका सन्तान एवं दरसन्तानलाई हुनेछ भनेकी थिइन् ।
क्रमशः









