
– प्रा.डा. जयराज आचार्य/ विवेक गौतम –
रानी सती गएको छ महिनापछि कफ्याक डाँडामा एकजना किसानले हाल मन्दिर भएको ठाउँमा हलो जोतिरहेको थिए । उनको हलो एउटा ठूलो ढुंगामा ठोक्कियो । त्यसपछि ढुंगाबाट दूध र रगत बग्न थाल्यो । लखन थापाले तान्त्रिक विधि एवं शक्ति लगाएर ढुंगाको पूजा गरेपछि मात्र रगत र दूध बग्न बन्द भयो । त्यसपछि मानिसहरुले देवीको अवतार मानी ढुंगालाई पूजा गर्न शुरु गरे । उनीहरुले देवीले आफ्नो मनोकामना पूरा गर्छिन भन्ने कुरा विश्वास गर्न थाले । रानीको इच्छा एवं निर्देशन बमोजिम लखन थापा र उनका सन्ततिहरुले त्यस ठाउँमा पूजा आजा गर्दै आएका छन् ।
मनकामना देवीलाई मानिसहरुले उनमा मनोकांक्षा पूर्ति गर्ने शक्ति भएको विश्वास गरी पूजा गर्दै आएका छन् । विभिन्न उमेर समूहका मानिसहरु मन्दिरमा जान्छन् र पूजा गर्दछन् । सडक नबन्दासम्म मानिसहरु अप्ठ्यारो बाटोमा पैदल हिँडेर पुग्थे । कति त हप्तौ र महिनौ हिँडेर पनि जान्थे । बाटोमा स–साना भट्टीहरुमा बास बस्दै मनकामना पुग्दथे । काठमाडौबाट मनकामना पुग्न कम्तिमा पनि ५–७ दिन लाग्थ्यो । बूढाबुढीलाई त त्यो भन्दा पनि बढी समय लाग्थ्यो ।
पहिला पहिला तीर्थालुहरुलाई स्थानीयले आदरसम्मान गर्दथे । उनीहरुलाई स्थानीयले भगवानका दूत हुन् भन्ने विश्वास गर्दथे । त्यसो गर्नाले उनीहरुको भलो हुन्छ भन्ने सोच्दथे । त्यसैले उनीहरुले तीर्थालुहरुलाई सित्तैमा बस्ने खाने सुविधा दिन्थे । त्रिभुवन विश्वविद्यालयका मानवशास्त्री प्राध्यापक डा. द्रोण रजौरिया भन्दछन् ।
तर वि.सं. २०३० सालमा पृथ्वी राजमार्गको निर्माण पश्चात यस्तो प्रथा र व्यवहारमा केही परिवर्तन भयो । वि.सं. २०१७ देखि २०३० सालको बीचमा नेपालमा धेरै नै सडकहरुको निर्माण भयो । पृथ्वी राजमार्गमा पर्ने तनहुँको आबु खैरेनीबाट मनकामना मन्दिर पुग्न बसबाट ओर्लेपछि करिब ४–५ घण्टा हिँडुनुपर्थ्यो । मुग्लिङ–त्रिवेणी ट्रेकिङ्ग गर्ने बाटो अर्को विकल्प बन्यो । लामो हिँडाइ अब २–४ घण्टामा झर्यो । क्रमशः









